बेसीशहर, मंसिर २० गते । ११ औं विश्व माटो दिवस लमजुङमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ । यस दिवसका अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले बिहीबार बेसीशहरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरी निःशुल्क माटाे परीक्षण शिविर समेत सञ्चालन गरियाे ।
“माटोको हेरचाहः मापन, निगरानी र ब्यवस्थापन” भन्ने नाराका साथ मनाइएको यस दिवसका अवसरमा कृषि ज्ञान केन्द्र लमजुङ र बेसीशहर नगरपालिका कृषि विकास शाखाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा कृषिसंग सम्बन्धित संघ संस्था, कृषकहरु, कृषक समूह, फर्मका प्रतिनिधि र कार्यालयका कर्मचारीहरुको सहभागिता थियो । सहभागीहरुले माटोसम्बन्धी विभिन्न जनचेतनामूलक नारा लेखिएका प्लेकार्ड र ब्यानर लिएर बेसीशहर बजार परिक्रमा गरेका थिए ।
यस अवसरमा कृषि ज्ञान केन्द्रमा माटो परीक्षण शिविर समेत आयोजना गरियो । उक्त शिविरमा विभिन्न स्थानबाट ल्याइएका माटोको नमूना परीक्षण गरिएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले जानकारी दिए ।
सो अवसरमा माटो दिवस मनाउनुको औचित्यमाथि प्रकास पार्दै ज्ञान केन्द्रका प्रमुख खतिवडाले माटो र पानी अन्तरसम्बन्धित श्रोतहरु भएकाले यिनको एकीकृत ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा खेतीयोग्य माटोको उर्वरापन खस्कदै गएको विभिन्न अध्ययनबाट पुष्टि भइसकेको र यसबारे कृषकसमक्ष पर्यप्त जानकारी नपुगेको बताए । माटोको स्वस्थ्यमा सुधार ल्याउन कृषि पद्धति, बृक्षारोपण र माटोको बिज्ञानको प्रयोगमा ध्यान यान दिनु आवश्यक रहेको चर्चा गर्दै खतिवडाले रासायनिक मल र कृषि रसायनको असन्तुलित प्रयोग, प्रांगारिक मलको न्यून प्रयोग, उपयुक्त सिञ्चाइको उपलब्धता नहुनु जस्ता कारणले माटोको उर्वराशक्ति खस्कदै गएको अवस्थामा माटो दिवसले खाद्य सुरक्षा, जल संरक्षण र जलवायु परिवर्तनको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले माटो संरक्षण र सुधार गरी आउँदो पुस्तालाइ स्वस्थ र उर्बर माटो सुम्पन माटो दिवसले सबैलाइ प्रेरित गर्ने बताइन् ।
कार्यक्रममा किसानहरुले विभिन्न स्थानबाट ल्याएको माटोको नमूना निःशुल्क रुपमा परीक्षण गरिएको थियो । शिविरमा भएको नमूना परीक्षणमा माटोको अम्लियपना, नाइट्रोजन, फस्फोरस र पोटास मापन गरिएको खतिवडाले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको ६८ औं महासभा वैठकको निर्णय अनुसार हरेक बर्ष डिसेम्बर ५ मा विश्वभर मनाइने यो दिवस नेपालमा २०७२ देखि मनाउन थालिएको हो ।