बेसीशहर । हङकङमा बसोबास गर्दै आएका प्रबासी लमजुङेहरुले लमजुङका दुईजना विरामीका लागि ५ लाख ५५ हजार रुपैयाँ सहयोग पठाएका छन् ।
हङकङमा रहेका प्रवासी लमजुङेहको संस्था लमजुङ सेवा समिति हङकङले लमजुङको क्व्होंलसोंथार गाउँपालिका वडा नं. ९ गिलुङका बोन क्यान्सरका विरामी ११ बर्षिय प्रिन्स गुरुङ र लमजुङको दोर्दी गाउँपालिका वडा नं. ७ ताँजेका मृगौलाका विरामी धनराज घलेलाई जनही २ लाख ७७ हजार पाँचसय रुपैयाँ सहयोग गरेको हो ।
आइतबार बेसीशहरमा एक कार्यक्रमबीच उक्त सहयोग रकम लमजुङ सेवा समिति हङकङका उपाध्यक्ष जगत गुरुङ, सल्लाहकार श्याम गुरुङ तथा पूर्व सल्लाहकार रामबहादुर गुरुङले पीडितका परिवारलाई हस्तान्तरण गरेका छन् ।
बोन क्यान्सरबाट विरामी भइ हाल उपचार गराइरहेका प्रिन्स गुरुङका पिता लालबहादुर गुरुङ र धनराजकी श्रीमती हिता गुरुङले लमजुङ सेवा समाज हङकङको सम्पर्क समिति लमजुङका पदाधिकारी, तथा सञ्चारकर्मीहरुको रोहबरमा उक्त रकम बुझेका छन् ।
११ वर्षिय प्रिन्स गुरुङ दुई बर्षअघिदेखि बोनम्यारो क्यान्सरबाट ग्रस्त छन् । उनको उपचारका लागि २० लाख बढी रकम खर्च भइसकेको र अब थप उपचारका लागि रकम अभाव भइरहेका बेला लमजुङ सेवा समाजबाट सहयोग पाउँदा हर्षविभोर भएको उनका पिता लालबहादुर गुरुङले बताए । हाल पोखराको एक विद्यालयमा कक्षा ६ मा पढ्ने प्रिन्सको उपचार चलिरहेको र स्वास्थ्यमा सुधार भइरहेको उनका पिता लालबहादुरले जानकारी दिए ।
अर्का सहयोग पाउने मृगौला रोगी घलेको पनि उपचार चलिरहेको उनकी श्रीमती हिता गुरुङले जानकारी दिइन् । गतबर्षबाट मृगौलामा समस्या देखिएको र दुवै मृगौलाले काम नगरेपछि आफैले एउटा मृगौला दिएर श्रीमानलाई गत माघमा प्रत्यारोपण गरिएको उनले जानकारी दिइन् । प्रत्यारोपणमा १६ लाख भन्दा बढी खर्च भएको र आर्थिक अभावका कारण सहयोगको अपेक्षामा रहेको उनले बताइन् ।
सहयोग रकम हस्तान्तरण पछि लमजुङ सेवा समाजका उपाध्यक्ष गुरुङले उक्त सहयोग रकम हङकङमा रहेका १०९ जना प्रवासी लमजुङेहरुबाट संकलन गरिएको जानकारी दिए । जिल्लाबासीको दुःख सुखमा साथ दिन समाजको स्थापना भएको र जिल्लाबासीको दुःख सुखमा सक्दो साथ दिँदै आएको उनले बताए ।
उनले सदस्यहरुबाट सहयोग संकलन गरी हालसम्म लमजुङका विभिन्न ठाउँमा गरी ६५ लाख भन्दा बढी सहयोग गरिसकेको जानकारी दिँदै संस्थकोे सम्पर्क समितिमार्फत पनि लमजुङका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिएको जानकारी दिए ।
सम्पर्क समितिका अध्यक्ष मीना गुरुङका अनुसार लमजुङ सेवा समाज हङकङले सम्पर्क समितिमार्फत सञ्चालन हुने गरी ४४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको छ । उक्त अक्षयकोषको ब्याजबाट गरीब, विपन्न, आर्थिक अभावले पढ्न र उपचार नपाएका तथा विपदमा परेकाहरुलाई सक्दो सहयोग गर्ने गरिएको छ ।
यसबाहेक संस्थाले लमजुङ जिल्लाको स्वास्थ्य, विपद, खेलकुद र शिक्षाको क्षेत्रमा पनि संस्थागत सहयोग गर्दै आएको छ ।