निर्वाहमुखी कृषिलाई ब्यवसायीक बनाउन नसके देशको विकास पनि हुँदैनः मन्त्री जि.सी

बेसीशहर । कृषि ज्ञान केन्द्र लमजुङ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लमजुङले चालु आर्थिक बर्षमा सञ्चालन गरिने कार्यक्रम र बजेटका बारेमा जानकारी गराएका छन् ।

गण्डकी प्रदेश सरकारका भूमि ब्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जि.सी.को प्रमुख आतिथ्यमा बुधवार बेसीशहरमा संयुक्त कार्यक्रम गरी ती कार्यालयहरुले आफ्ना कार्यक्रमको सार्वजनिकीकरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री जिसीले नेपालमा निर्वाहमुखी कृषिलाई ब्यवसायीक बनाएर लैजन नसके राज्यको लगानी खेर जाने बताए । मन्त्री जिसीले कृषिमा राज्यले जति लगानी गरे पनि उल्लेख्य उपलब्धी हासिल हुन नसकेकाले निर्वाहमुखी कृषिलाई जबसम्म ब्यवसायीक बनाउन सकिदैन तबसम्म देशको विकास पनि नहुने बताए ।


मन्त्री जिसीले पछिल्लो समय कृषि क्षेत्रमा हचुवाको भरमा अनुदान दिने कामले पनि कृषि क्षेत्रको विकासको ठाउँमा विकृति आएको भन्दै अबका दिनमा उत्पादनको आधारमा अनुदानको नीति लिइएको स्पष्ट पारे । राज्यले कृषि क्षेत्रको विकासका लागि बजेटमा कन्जुस्याइँ गर्न नहुने र कर्मचारीहरु इमान्दार भइदिए र किसान लगनशील भइदिने हो भने कृषि क्षेत्रको विकास सम्भव हुने मन्त्री जिसीको भनाई थियो ।

सो अवसरमा कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले चालु आर्थिक बर्षमा लमजुङ जिल्लामा केन्द्रमार्फत सञ्चालन हुने विभिन्नि कार्यक्रम र त्यसको बजेटका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

त्यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले चालु आर्थिक बर्षमा कार्यालयले सञ्चालन गर्ने विभिन्न कार्यक्रम र तिनको बजेटका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहित सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि,अगुवा किसानहरुको सहभागिता थियो । 


प्रतिक्रिया