बेसीशहर, बैशाख १८ गते । नेकपा एमाले सुन्दरबजार नगर कमिटीको अधिवेशनले द्वारिका प्रसाद मिश्रलाई नगर कमिटिको अध्यक्ष चयन गरेको छ ।
नगर कमिटीको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी लोकराज पाण्डेलाई फराकिलो मतान्तरले हराउँदै मिश्र नगर कमिटिको अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य जमीन्द्रमान घले लगायतका नेताहरुको साथ पाएका मिश्रले जिल्ला समन्वय समिति लमजुङको प्रमुख बनिसकेका जिल्ला कमिटीका पूर्व सदस्य लोकराज पाण्डेलाई १ सय १० मतले पराजित गरेका हुन् ।
नगर कमिटि उपाध्यक्षमा जयराम रेग्मी निर्विरोध निर्वाचित भए । सचिवमा समेत निर्वाचन भयो । मत परिणाम अनुसार सचिव पदमा रघुनाथ मिश्रलाई ७७ मतले पराजित गर्दै सुर्यकान्त अधिकारी विजयी भए । उनले १ सय ३२ मत पाए । उनलाई पनि नेताहरुको साथ थियो । नगर कमिटीको सहसचिवमा नविनकुमार श्रेष्ठ र विष्णु श्रेष्ठ सर्बसम्मत भए । नगर कमिटी ६५ सदस्यीय रहने बताइएको छ ।
नगर अधिवेशनबाट सर्बसम्मतिमा नेतृत्व चयन गर्ने कोशिस गरिएकोमा त्यसो हुन नसकेपछि अध्यक्ष र सचिव पदमा निर्वाचन गरिएको थियो । सदस्य पदमा भने सर्बसम्मति भएको बताइएको छ ।
नगर कमिटीको लेखा समितिको अध्यक्षमा सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष हरिप्रसाद पोखरेल, सदस्यहरुमा वसन्तवहादुर नेपाली र विमल परियार चयन भएका छन् ।
स्मरणीय छ, नगर कमिटीको अध्यक्ष निर्वाचित भएका मिश्र २०७४ को स्थानीय निर्वाचनसम्म नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिको सभापति थिए । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले त्यहाँको मेयर पदमा उमेदवार बन्न नदिए पछि उनी स्वतन्त्र रहँदै आएकामा डेढ बर्ष अघिमात्र उनी एमालेमा प्रवेश गरेका हुन् ।
उता मर्स्याङदी गाउँपालिका कमिटी अध्यक्षमा प्रेम बस्नेत निर्वाचित भएका छन् । त्यहाँ पनि सर्वसम्मति नजुटेपछि अध्यक्ष पदमा निर्वाचन भएकाे थियाे । बस्नेतले चित्रबहादुर घिमिरिलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
सर्वसम्मतिकाे प्रयास विफल भएपछि भएकाे मतदानमा बस्नेतले १ सय १० मत प्राप्त गरे । त्यहाँ कूल मतदाता १ सय २१ रहेकामा घिमिरेले १० मत पाए । एक मत बदर भयाे । अधिवेशनले गाउँ पालिका कमिटीको उपाध्यक्षमा नारायण बहादुर तामाङ, सचिवमा कृष्णप्रसाद घिमिरे, उपसचिवमा सरोज गुरुङ र महिला उपसचिवमा सलिना वि.क सहित ४९ सदस्यीय नयाँ कमिटी गठन गरेको बताइएकाे छ ।
खबरकुञ्ज