बेसीशहर, बैशाख १४ गते ।
मेहनतका साथ महिनौं लगाएर गरेको कामको पारिश्रमिक नपाउँदा तपाइँलाई कस्तो होला ? दुईचार सय वा दुई चार हजारको काम भएको भए पैसा नपाए पनि ठिकै छ भन्न सकिन्थ्यो होला । तर लाखौं रुपैयाँको काम गरेर पैसो भने सुको नपाउँदा पक्कै पनि मान्छेको मन दुख्छ नै । यस्तै नियति आफूले भोगेको गुनासो छ लमजुङका एकजना चित्रकारको ।
यस्तो गुनासो हो चित्रकार बाबु साइँला अर्थात भीमसुब्बा तामाङको । काठमाडौंमा रहेको उनको आर्ट ग्यालरीको ब्यस्तता छोडेर उनले आफ्नै गृह जिल्ला लमजुङको जिल्ला अस्पताल हाताभित्र निकै मेहनेत गरेर थुप्रै चित्र बनाए । लमजुङका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु इशानेश्वर महादेव मन्दिर, तुर्लुङ कालिका, घलेगाउँ, भुजुङ, पसगाउँ, राईनासकोट, लमजुङ दरबार, बराहपोखरी, मेमे पोखरी, दूधपोखरी, पिसहिल, हर्सिङ डाँडा, अक्टोपस झरना, देखि सिन्दुरे ढुंगा, खजे दुराको शालिकका चित्र अस्पताल परिसरमा बनेका छन् ।

यी बाहेक हात धुने तरिका, रक्तदान, स्तनपान, हरियो सागसब्जीका फाइदा लगायत स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने खालका पेण्टिङहरु समेत अस्पताल परिसरमा कोरेका छन् बाबु साइँलाले । यति चित्र कोर्र्न उनलाई डेढ महिनाको समय लागेको थियो । तर काम सम्पन्न गरे पनि भुक्तानी भने नपाएको गुनासो उनको छ । त्यसमाथि काम गर्ने क्रममा काठमाडौंबाट आउने जाने, बेसीशहरको होटलमा खाए बसेको र पेण्टिङका लागि आवश्यक रंग, कुची खरिदका लागि २ लाख रुपैयाँ खर्च भएको तर त्यो पनि नपाएको भन्दै उनले बिहीबार राती सामाजिक सञ्जाल फेसबुकमा लेखे ।
चित्रकार साइँलाका अनुसार उनले काम गरेबापतको ८ लाख रुपैयाँ र नीजि खर्च भएको २ लाख गरी १० लाख रुपैयाँ पाउनु पर्ने छ । तर बाराम्बार भुक्तानी माग्दा नपाएपछि दिक्क मान्दै आफ्नो खर्च भएको २ लाख रुपैयाँ पनि नपाएपछि त्यो पनि योगदान गरिदिएको भन्दै सामाजिक सञ्जालमा दुःख पोखेका थिए ।
बाबु साइँला ब्यवसायीक चित्रकार हुन् । उनको घर लमजुङको मस्र्याङदी गाउँपालिका ३ काउले हो । काठमाडौंमा उनको आफ्नै ग्यालरी छ । उनी गजलकार र पूर्व पत्रकार पनि हुन् । अहिले पनि विभिन्न सञ्चारमाध्यममा उनका ब्यंग्यचित्रहरु छापिन्छन् । सोझा र ईमन्दार तर काममा लगनशील उनी जस्ता दिग्गज चित्रकारलाई कसले फसायो ? यो भने उनले खुलाएका छैनन् ।
हामीले यसबारेमा अस्प्तालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टसंग बुझेका थियौं । अस्पतालका अध्यक्ष हरिजंग तामाङले बाबु साइँलाले काम गरेको रकम पाउने तर सकारी संस्था भएकाले प्रक्रिया पुरा गरेपछि मात्र भुक्तानी दिइने बताए । उनले भने- “अस्पताल परिसरमा पेण्टिङ बनाउने बिषयमा अनौपचारिक रुपमा छलफल भइ उहाँको पनि ब्राण्डिङ हुने र केही रकम समेत पाउने गरी काम भएको हो । यसका लागि जिल्लाका पालिकाहरुले पनि बजेट उपलब्ध गराउने छन् । अस्पतालले समेत केही रकम दिने सहमति भएको छ तर औपचारिक सम्झौता गरिएको छैन । यसअघि सम्झौता नभएकाले सम्झौताका लागि कोटेशन र बिल ल्याउन आग्रह गरिएको छ ।”

अस्प्ताललका मे सु डा. विशाल तिवारीले भने- “अस्पताल परिसरमा बनाइएको चित्रको भुक्तानी नदिइएको भन्ने बारे आफूलाई आज मात्रै थाह भएको बताए । उनले भने यो काम आधिकारिक रुपमा अस्पतालले लगाएको होइन, जता बाट गराईए पनि काम गर्नेले भुक्तानी पाउनु पर्छ । मैले त उक्त कामको भुक्तानीका लागि अरुनै दातृ निकायसंग कुरा भएको भन्ने सुनेको हूँ । अस्पतालमा उहाँबाट भुक्तानी माग पनि नभएको र कुनै डकुमेण्ट समेत आएको छैन । जे भए पनि उहाँले गरेको कामको मूल्याङ्ककन गरी अस्पतालले पनि केही योगदान दिनुपर्छ । अस्पताल उम्कदैन ।”
अस्पतालका अध्यक्ष र मे.सु.संगको कुराकानीपछि हामीले चित्रकार बाबुसाइँलालाई सम्पर्क गरे पनि सम्पर्क हुन सकेन । यो समाचार तयार गरिरहँदा उनले फेसबुकमा काम गरेर भुक्तानी नपाएको भन्ने पोष्ट हटिसकेको छ ।
खबरकुञ्ज