राइनास नगरपालिका वडा नं ५ तिनपिप्लेबाट खरिद गरी झापा लैजान लागिएका एक हल गोरु स्थानीय बासिन्दाले सम्बन्धित धनीकहाँ फिर्ता गराइदिएका छन् ।
स्थानीयले अबैध रुपमा गोरु निकासी गर्न लागिएको भन्दै बिक्री गर्ने सम्बन्धित गोरुधनीकहाँ हलगोरु फिर्ता गराएका हुन् । राईनास नगरपालिकाका विभिन्न ठाउँबाट यस अघि पनि रातीको समयमा अबैध रुपमा गाईगोरुको निकासी हुने गरेकोमा सोमबार बिहान मूल बाटोबाट नै एकहल गोरु झापातर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि रोकेका थिए ।
लमजुङकै सुन्दरबजार बस्ने ईन्दूराम चौधरीले गोरु खरिद गरी झापा लैजान लाग्दा समातिएका हुन् । स्थानीयले उनलाई गोरु कहाँ लैजाने भनि केरकार गर्दा उनले झापा जिल्लामा लाग्ने हाटबजारमा लगेर विक्री गर्न लैजान लागेको जवाफ दिएका थिए । उनले हाटबजारमा बंगलादेश देखिका खरिदकर्ताहरु गोरु खरिद गर्न आउने र अन्ततः मासुकै प्रयोजनका लागि गोरु लैजान लागेको हाकाहाकी बताउँदै आफूसंग खरिद विक्रीका लागि ईजाजत पत्रसमेत रहेको भन्दै ईजाजतपत्र देखाएका थिए ।
राज्यले दिएको ईजाजत पत्र नै देखाए पनि राईनास नगरपालिकाले कृषि अभियानमा खेत जोत्न स्थानीय गोरुको अभाव भएकोले स्थानीय गोरु संरक्षणका लागि विशेष कार्यक्रम चलाउनुका साथै स्थानीय गाई गोरु संरक्षण गर्नेलाई अनुदानको ब्यबस्था मिलाएकाले कृषिबाहेक अन्य प्रयोजनका लागि गोरु लैजान नपाइने भनि गोरु सम्बन्धित किसानकै घरमा फिर्ता पठाइदिएको राईनास नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख शिवबाबु देवकोटाले बताए । उनका अनुसार स्थानीय गोरु संरक्षण कार्यक्रमका लागि नगरपालिका बाहेक संघ सरकारबाट पनि कार्यक्रम आएकोले गाईगोरुको संरक्षणका लागि नगरपालिकाले भूमिका खेलेको हो ।
यस बिषयमा राईनास नगरपालिकामा सोमबार दिनभरजस्तै छलफल भएको थियो । राईनासबाट मात्रै होइन, लमजुङ जिल्लाबाटै स्थानीय जातका गाई गोरु हराउन थालेको अवस्थामा स्थानीय जातका गाईगोरु संरक्षणका लागि राईनास नगरपालिकाले पूर्जी काटेर पनि गाई गोरु लैजान नदिने अडान राखे पछि खरिद गरिएका गोरु सम्बन्धित किसानलाई नै फिर्ता गराइएको थियो ।
मासु प्रयोजनका लागि गाई वा गोरु खरिद गर्न आउनेहरुले गाउँघरमा चलनचल्तीमा विक्री हुने भन्दा ५÷७ हजार रुपैयाँ नै बढी मूल्य दिने भएकाले किसानहरु पनि लोभमा फसेर गाई गोरु विक्री गर्ने गरेका छन् । जसका कारण गाउँघरबाट गाई गोरु लोप हुने अवस्थामा छन् ।
सामाजिक अभियान्ता कृष्णराज ओलिया भन्छन्– “पहिले रातीराती गाईगोरु लैजान्थे, अहिले त दिनदहाडै लैजान थालेछन् । स्थानीय गाई गोरु संरक्षणको कार्यक्रम केवल साँस्कृतिक कारणले मात्रै नभइ किसानहरुको आबश्यकताले गर्नुपर्छ । नगरपालिकाले स्थानीय गाईगोरुको संरक्षणका लागि कार्यक्रम बजेट समेत ब्यबस्था गरेको हुनाले कृषि कार्यमा उपयोग गर्ने बाहेक अन्य कार्यका लागि गोरु लैजान नपाइने ब्यवस्था मिलाउनु पर्छ । नेपालबाट बर्सेनि हजारौं संख्यामा गोरु बंगलादेश निकासी भइ स्थानीय जातका गाई गोरु अब दुर्लभ हुन थालेको छ । गाई राष्ट्रिय जनाबर भएको मुलुकबाट स्थानिय जुरो भएका विभिन्न जातका गाई लोप हुंदा साँस्कृतिक परम्परा र कृषि क्षेत्र प्रभावित बनेको छ । यसको संरक्षणमा विशेष कानुन र कार्यबिधि बन्नु जरुरी छ ।”
राईनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले किसानले आफुले पालेका गाईगोरुको पालन पोषण गर्न नसक्ने भएमा सामुदायिक गौशाला बनाइ नगरपालिकाले संरक्षण गर्ने बताए ।
खबरकुञ्ज