बेसीशहर, चैत ४ गते । त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा बुधवार चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । निर्वाचनमा विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनहरु सहभागी हुँदैछन् ।
स्ववियू निर्वाचनका नतिजा आफ्नो पक्षमा पार्न विद्यार्थी संगठनहरु लागि परेका छन् । देशका अधिकांश क्याम्पसहरुमा सत्तारुढ गठबन्धनका प्रमुख पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनहरुबीच चर्को प्रतिस्पर्धा छ । कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र एमाले निकटको अनेरास्ववियूबीच स्ववियू कसले जित्ने भन्ने होड चलिरहेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसका विद्यार्थीहरुको साझा संगठन हो। स्ववियूले विद्यार्थी र क्याम्पस प्रशासनबीच समन्वयको काम गर्छ। विद्यार्थीको समस्या र गुनासो क्याम्पस प्रशासनसम्म पु¥याउने र त्यसलाई हल गर्ने प्रमुख दायित्व स्ववियूको रहे पनि कहिले काहिँ क्याम्पस प्रशासनसंग मिलेर स्ववियूका पदाधिकारीले विद्यार्थीकै खिलापमा काम गरेको आरोप पनि लाग्ने गर्छ ।
विशेषगरी क्याम्पसमा हुने बिभिन्न आर्थिक गतिविधिमा स्ववियूका पदाधिकारीले लेनदेन गर्ने गरेको पनि नसुनिएको होइन । यद्यपी विद्यार्थी हक हितको पैरवी र क्याम्पसका विद्यार्थीहरुको नेतृत्व गर्दै भविष्यमा देशको असल नेताको छबि बनाउन स्ववियू एउटा मञ्च पनि बन्ने गरेको छ । क्याम्पसको पठन पाठनदेखि खेलकुद र अन्य विभिन्न क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराई विद्यार्थीहरुको हकहितको पक्षमा काम गर्न क्याम्पस प्रशासनलाई बाध्य बनाउने अस्त्र हो स्ववियू ।
तर यसपालीको स्ववियू निर्वाचनमा देशैभरिका क्याम्पसमा शैक्षिक मुद्दा ओझेलमा परेको महशुस भएको छ । प्रायः सबै विद्यार्थी संगठनले शैक्षिक भन्दा पनि राजनीतिक मुद्दा बढी उठाएको देखिन्छ । शैक्षिक भन्दा दलीय एजेण्डालाई महत्व दिइँदा र क्याम्पसबाट अवान्छित लाभ लिन खोज्ने प्रवृत्ति पनि स्ववियूका नेताहरुमा देखिएको भन्दै कतिपयले स्ववियूमाथि नै प्रश्न चिन्ह उठाउने गरेका छन् ।
देशैभरका बर्षौंदेखि क्याम्पसहरु राजनीतिक दलका नेता उत्पादन गर्ने कारखाना बनेका छन् । विद्यार्थीका हक हितका लागि भन्दा पनि दलको प्रभुत्व देखाउन स्ववियूमा विजय हात पार्न हात पार्न विद्यार्थी नेताहरु जुटिरहेका देखिन्छन् र स्ववियूको निर्वाचनमा दल, ती सम्बद्ध नेताहरु नै हात धोएर लागि पर्नुले स्ववियू राजनीतिक दलको प्रतिष्ठाको लडाइँ बन्न पुगेको देखिन्छ । स्ववियूको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवार, सम्बन्धित विद्यार्थी संगठन र पार्टीका नेताहरु आफू पक्षीय विद्यार्थी संगठनको पक्षमा मतदान गरी विजयी गराउन विभिन्न माध्यमबाट अपिल गरिरहेको देखिनुले यही संकेत गर्दछ ।
लमजुङमा पनि स्ववियू निर्वाचनका सरगर्मी बढेको छ । सदरमुकाम लगायत जिल्लाका शहरोन्मुख बजारहरुमा रहेका क्याम्पसहरुमा स्ववियू निर्वाचनको माचो छ । बेसीशहरको मस्र्याङदी बहुमुखी क्याम्पस, सुन्दरबजारको लमजुङ क्याम्पस, मातृभूमि क्याम्पस, भोटेओडारको भक्ति आदर्श क्याम्पस, मध्यनेपालको दुईपिप्लेमा रहेको पुष्पलता जनएकता क्याम्पस, भोर्लेटारको ईशानेश्वर क्याम्पस र सोतीपसलको मंगला क्याम्पस स्ववियू निर्वाचन हुने क्याम्पसमा पर्छन् ।
यी सबै क्याम्पसमा कांग्रेस निकटको नेविसंघ, एमाले निकटको अनेरास्ववियूको प्रतिष्ठाको लडाइँ चलिरहेको छ । सबै क्याम्पसमा दुवै संगठनले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् र नतिजा आफू अनुकूल ल्याउन कोशिस गरिरहेका छन् । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले बेसीशहरको मस्र्याङदी क्याम्पसमा एकल प्यानल खडा गरेको छ भने लमजुङ क्याम्पसमा एमाले निकटको अनेरास्ववियूसंग तालमेल गरेको छ ।
लमजुङको बेसीशहरस्थित मर्स्याङदी बहुमुखी क्याम्पसमा पनि निर्वाचनको माहोल तातेको छ । जिल्ला सदरमुकामसमेत रहेकाले यहाँको स्ववियू निर्वाचन दलको प्रतिष्ठा जोडिनु नौलो कुरा भएन । यो क्याम्पसमा हरेक स्ववियू निर्वाचनमा दलहरुले प्रत्यक्ष सहभागिता जनाउने गर्छन् । दलबाहेक क्याम्पसको सञ्चालक समिति र क्याम्पस प्रशासन पनि आफू अनुकूलको स्ववियू बनोस् भन्ने चाहने गर्छन् र सोही अनुसारको ब्यवहार पनि हुँदै आएको देखिन्छ ।
मर्स्याङदी क्याम्पसमा नेविसंघ,नेविसंघले पूर्णबहादुर गुरुङको नेतृत्वमा सन्तोष वि.क सचिव, जमुना श्रेष्ठ कोषाध्यक्ष रहेको प्यानल खडा गरेको छ । अनेरास्ववियूले सभापति पदमा मदन कुमार वि.क, सचिवमा गणेश अधिकारी र कोषाध्यक्षमा मुना गुरुङ सहितको प्यानल अघि सारेको छ । अखिल क्रान्तिकारीले भने आयुष सुनार सभापति, पवित्रा तामाङ सचिव र सुनिता सुनार कोषाध्यक्ष रहेको प्यानल खडा गरेको छ ।


सुन्दरबजारको लमजुङ क्याम्पसमा भने नेविसंघ र दुई अनेरास्ववियूबीचको प्यानलबीच प्रतिस्पर्धा छ । त्यहाँ नेविसंघले असिम वस्ती सभापति, विवेक सिंह सचिव र हेमनारायण रसाइली कोषाध्यक्ष उमेदवार रहेको प्यानल प्रतिस्पर्धामा उतारेको छ। अनेरास्वयिूको संयुक्त प्यानलले भने अनुसा परियार सभापति, कृष्टि सापकोटा सचिव र नविन कुमार यादव कोषाध्यक्ष रहने गरी प्यानल घोषणा गरेको छ।

सुन्दरबजारकै मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिमा विशाल थापा, सचिवमा सरला अधिकारी, कोषाध्यक्षमा अन्जली विकसहितको प्यानल खडा छ। अनेरास्ववियूबाट सभापतिमा मन्दिरा अछामी, सचिवमा सुजना मौरती र कोषाध्यक्षमा अनुशा कँडेलसहितको प्यानल खडा भएको छ ।


भक्ति आदर्श क्याम्पसमा नेविसंघबाट सभापतिमा सुशिल अधिकारी, सचिवमा अर्पणा अधिकारी र कोषाध्यक्षमा निशु गुरुङ उम्मेदवार छन् । अनेरास्ववियूबाट सभापतिमा रजिना घले, सचिवमा अनिशा सुनार र कोषाध्यक्षमा कुसुम गुरुङसहितको प्यानल तयार छ ।


अन्य क्याम्पसहरुमा पनि स्ववियू निर्वाचनका लागि प्यानल खडा भए पनि कम विद्यार्थी संख्या भएकाले सहमतिको प्रयास भइरहेको छ । यसका लागि स्थानीय राजनीतिक दल, क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले पहल गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म सहमतिको खबर भने आएको छैन ।
खबरकुञ्ज