१० बर्षपछि बेसीशहर खानेपानीकाे अधिवेशन हुँदै, कांग्रेस, एमाले र रास्वपाकाे त्रिपक्षीय भीडन्त

मिलन शर्मा दनाई

बेसीशहर, असार ४ गते । लामो समयको प्रतिक्षापछि बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं साधारण सभा एवं पाँचौ अधिवेशन यही असार ७ र ८ गते हुँदैछ । 

यो अधिवेशनले समितिको नयाँ नेतृत्व चयन गर्दै छ । बर्तमान समितिको कार्यकाल सकिएको झण्डै ६ बर्षपछि अधिवेशन हुन लागेकोले अधिवेशनले बिशेष चर्चा र महत्व पाएको छ । पछिल्लो पटक समितिको अधिबेशन ०७१ माघ १७ र १८ गते भएको थियो । १० बर्षपछि अहिले अधिवेशन हुन लागेकाले यसले बेसीशहरमा पुनः राजनीतिक गर्मी थपेको छ । 

चार बर्षे कार्यकाल रहेको उपभोक्ता समितिको अधिवेशन २०७५÷०७६ मै सम्पन्न हुनुपर्ने थियो । २०७६ मा अधिवेशन आह्वान समेत भएकोमा त्यतिबेला कोरोना महामारीलाई कारण देखाएर स्थानीय प्रशासनले अधिवेशन गर्न दिएन ।

त्यसपछि २०७८ मा पुनः अधिवेशन आह्वान भएकामा ०७९ मा हुने स्थानीय निर्वाचनलाई कारण देखाएर बेसीशहर नगरपालिकाले स्थगित गर्न निर्देशन दिएपछि स्थगित भएको अधिवेशन समितिको आन्तरिक कारणले स्थानीय निर्वाचन पछि पनि हुन सकेन । अहिले भने अधिवेशनको मिति तय भएर निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गठन गरेको निर्वाचन समितिले यही असार ४ गते मतदाता नामावली प्रकाशन, ६ गते बिहान ११ बजेसम्म मतदाता नामावली उपर दावी विरोध, ६ गते दिउसो २ बजे अन्तिम नामावली प्रकाशन, असार ७ गते दिउसो ४ देखि ६ बजेसम्म उमेदवारहरुको मनोनयन दाखिला, उमेदवारहरुको पहिलो नामावली सोही दिन बेलुका ६.१५ बजे, मनोनयन उपर दावी विरोध सोहीदिन ६.१५ देखि ६.३० सम्म हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।त्यस्तै असार ७ गते बेलुकी ७ बजेबाट ८ बजेसम्म मनोनयन फिर्ता, ८.१५ सम्म उमेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने र असार ८ गते बिहान ९ बजेबाट बेलुकी ५ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ ।

बेसीशहर खानेपानीको निर्वाचनले स्थानीय निर्वाचनको झल्को दिने गरेको ईतिहास छ । विगतमा स्थानीय निर्वाचन हुन नसक्दासमेत खानेपानीको अधिवेशनमा उत्साहजनक रुपमा सहभागिता जुट्ने गथ्र्यो । यो अधिवेशनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको लडाईँ सम्झन्थे र अधिवेशनको नतिजाले बेसीशहरमा कुन पार्टीको पकड छ भन्ने स्पष्ट झल्को समेत दिएको मानिन्थ्यो । 

यस पटकको अधिवेशनलाई पनि आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले तयारी थालेका छन् । बेसीशहर खानेपानीमा यस अघि नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी टक्कर हुने गरेकोमा यसपाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मैदानमा उत्रिए पछि एकाएक चुनावी माहोल ह्वात्तै बढेका मात्र छैन, रास्वपाको मैदान प्रवेशले कांग्रेस एमालेको चिन्ता बढाएको छ ।  

रास्वपाले बेसीशहर वडा नंं ७ वडा समितिका सचिव विष्ष्णु घिमिरेलाई अध्यक्षको प्रत्यासी बनाएको छ । रास्वपाको टीमबाट उपाध्यक्षमा सविता अधिकारी बराल, सचिवमा श्याम अर्याल, कोषाध्यक्षमा मीना खड्का र सदस्यहरुमा दिपु श्रेष्ठ, भक्तबहादुर अधिकारी, विष्णु सुयल, अहलदिन मिया, भीममाया तामाङ गुरुङ, रत्नकुमारी गुरुङ र केशब दुलाल उमेदवार बनेका छन् ।

नेपाली कांग्रेसले अहिलेसम्म उमेदवार सार्वजनिक गरेकोे छैन । यद्यपी कांग्रेसबाट अहिलेका उपाध्यक्ष लोकेन्द्र गुरुङ अध्यक्षमा उठ्ने चर्चा छ । गुरुङसंगै वर्तमान कोषाध्यक्ष भीमबहादुर अधिकारी र सदस्य चन्द्रकान्त पौडेलले अध्यक्षमा दावी गरेको सुनिएको छ ।  

यता नेकपा एमालेले पनि औपचारिक रुपमा उमेदवारी घोषणा गरेको छैन । उक्त पार्टीका कार्यकर्ताहरुले रामबहादुर गुरुङलाई अध्यक्षको प्रत्यासीको रुपमा प्रचार थालेबाट उनी नै अध्यक्षमा उठ्ने प्रायः पक्का देखिन्छ । एमालेले समेत समितिका अन्य पदाधिकारी र सदस्यहरुमा को को लाई उठाउने भन्ने टुंगो लगाएको छैन ।

बेसीशहर खानेपानीको अघिल्ला अधिवेशनमा कांग्रेस र एमालेको टक्कर पर्ने गरेकोमा यसपाली रास्वपाको प्रवेशले अधिवेशन रोचक हुने अनुमान गरिएको छ ।

अधिवेशन संघारमा आइसकेको अवस्थामा खानेपानीका सचेत उपभोक्ताहरु भने सामाजिक क्षेत्रमा राजनीतिक प्रतिस्पर्धालाई मलजल गर्न नहुने बताउँछन् । सामाजिक कार्यका लागि सामाजिक भाव भएको, उदार र ठूलो छाती भएको, दुईचार पैसाको लोभ नगर्ने र सामाजिक सेवालाई नै सर्वोपरी ठान्ने ब्यक्तिहरु नेतृत्वमा आउनुपर्ने धारणा उनीहरुको छ ।

बेसीशहर खानेपानीको गुणस्तर सुधार, खानेपानीकाे थप श्राेत खाेजी २४ सै घण्टा खानेपानीको आपूर्ति, मुहानदेखि चुहानसम्म खानेपानीको अवस्थाको अपडेट लिएर प्राविधिक एवं कर्मचारीलाई खटन पटन गर्न सक्ने जुझारु नेतृत्व अहिलेको आवश्यकता रहेको उनीहरु बताउँछन् ।

बेसीहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गत अहिले ब्यक्तिगत र संस्थागत गरी ३ हजार १ सय ९७ धारा जडान गरिएका छन् । यीमध्ये ब्यक्तिगत धारा हुनेले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया