काठमाडौं, चैत १४ । आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार युवायुवतीहरुलाई बैदेशिक रोजगारीमा पठाईदिन्छु भनि लाखौं रकम ठगी गरेको अभियोगमा लमजुङका एक युवा काठमाडाैंमा पक्राउ परेका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ५ घर भई हाल ललितपुरमा बस्ने बर्ष ३६ का प्रकाशबंशी ठकुरीलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका वडा नंं २५ मगरगाउँमा बस्दै आएका ठकुरीले आफूहरुलाई पोर्चुगल पठाइदिन्छु, त्यहाँ आकर्षक तलबमा काम पाइन्छ भनि बिशाल चौहान लगायतका केही युवाहरुबाट ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको अभियोग छ ।
विशाल चौहानसहित ३ जनाले दिएको जाहेरीका आधारमा ठकुरीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।