काठमाडौं, कार्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पक्राउ परेका छन् ।
लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिए पछि जिल्ला प्रहरी कार्यालय, कास्कीले सिआइबीको सहयोगमा उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीले आजै सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिए पछि सिआइबीको टोलीले उनलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको हो ।
लामिछानेलाई पक्राउ गर्ने खबर फैलिएपछि रास्वपाको केन्द्रीय कार्यालयमा कार्यकर्ताहरुको भीड जम्मा भएको थियो । यसैबीच रास्वपा सभापति लामिछानेले आफू कानुनलाई सघाउन तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई न्यायलय र जनताप्रति पूर्ण भरोसा रहेको बताएका छन् ।
लामिछानेले भने आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको बताएका छन् ।
रवि पक्राउ परे लगत्तै उनले पक्राउ पर्नु अघि रेकर्ड गरिएको भिडियो बाहिरिएको छ । उक्त भिडियोमा उनले कांग्रेस पार्टीलाई र अप्रत्यक्ष रूपमा कांग्रेस महामन्त्री गगन थापालाई खुशी पार्न सरकारले आफूलाई पक्राउ गरेको दावी गरेका छन् ।
उनले भिडियो सन्देशमा भनेका छन्– “ सरकार कुन हदसम्म जान सक्छ भन्ने कुरा हामीलाई प्राप्त भएको थियो । बाध्यता छ सरकारलाई हामी बुझ्छौं । अहिले ईष्युलाई डाइभर्ट गर्ने बेला आएको छ । प्रमाणित भ्रष्टाचारीबाट जग्गा दान लिएर करोडौंको अबरको जग्गा दान दिएर बदनमी कमाएको यो बिषयबाट बिषयान्तर गर्नको निमित्त, डाइभर्ट गर्नको निमित्त पनि तपाईँहरुलाई केही न केही गर्नै पर्ने बाध्यता थियो तपाइँहरुलाई । हामी बुझ्दछौं, म बुझ्दछु ।
बाध्यता छ तपाइँको, सरकार जोगाउने बाध्यता । नेपाली कांग्रेस रिसाएको क्षणमा सरकार ढल्छ, त्यसकारणले सरकार जोगाउनको निमित्त पनि कांग्रेसलाई खुशी पार्नु पर्ने हुन्छ । कांग्रेसका अझ बिशेष प्रमाण छ भन्ने नेतालाई खुशी नपारीकन त तपाइँको सरकार चल्न पनि सक्दैन, म बुझ्दछु । तर कसैको राजनीति जोगाइदिन र कसैको सरकार जोगाइदिनको निमित्त कसैले अन्याय भोग्न पर्ने परिस्थिति सिर्जना नहोस्, यति मात्र अपील म आम सर्वसाधारणलाई गर्न चाहन्छु, सिधा कुरा गर्न चाहन्छु । किनकी यसरी सिधा कुरा गरेर नै मैले आम नागरिक संग आफ्नो नाता जोडेको हूँ । त्यसकारण यो बिषम परिस्थितिमा आम नागरिकलाई यो अपील गर्नको निमित्त मैले यो भिडियोको सहारा लिएको छु ।
मलाई यो पनि थाह छ कि कुनै न कुनै तरिकाले संगठित अपराध लगाएर भए पनि मुद्दा चलाएर भए पनि राजनीतिमै आउन नसक्ने गरी खेल खेल्ने र उस्तै परे अदालतलाई पनि प्रभाव प्रेरित गर्न सकिन्छ भनेर समेत दौडधुप गर्ने मान्छेहरुको लाइन लागेको छ भन्ने कुराको सूचना मलाई छ । होला, म संगठित अपराधमै थिएँ होला, किन नहुनु ? संगठित अपराध नै त हो नि, बाढीले बगाएको बस्ती बनाउन जानु संगठित अपराध होला । विदेशमा अलपत्र परेका चेलीहरुलाई बचाएर ल्याउनु संगठित अपराध नै होला । विदेशमा दुःख पाएका दाजुभाइ दिदीबहिनीहरुलाई स्वदेशमा ल्याउनु संगठित अपराध नै होला । घुसखोरहरुलाई सडकमा ठाउँको ठाउँ कारबाही गरेर कानुनी दायरामा ल्याउनु पनि संगठित अपराध नै होला । दुर्गममा अस्पताल बनाउने काम पनि संगठित अपराध नै होला । यिनै संगठित अपराधहरुमा मैले ५÷७ बर्ष बिताएको आम नागरिकले देखेका छन् ।
हो, संगठित अपराध, के के अपराध लाग्छ सबै हाल्नु पर्ने हुन्छ । सम्पूर्ण निकाय लागेर बैंकिङ्ग क्षेत्रका राष्ट्र बैंक, सहकारी बैंक, सहकारी बोर्ड, प्रदेश, पालिका, अडिटर्सहरु, सम्पूर्ण मान्छे लागेर संसदीय समिति बनाएर राज्यका सम्पूर्ण शक्ति, प्रहरी, अदालत सम्पूर्ण लागेर कहिँ कतै सहकारी अपचलनमा संलग्नता छैन भनेर भनिसके पनि कुनै न कुनै तरिकाले मुद्दा लगाउनु पर्ने सरकोको यो बाध्यतालाई मैले राम्ररी बुझेको छु ।
मलाई बिश्वास छ, आम नागरिकले पनि राम्रोसंग बुझ्नु भएको छ । म सबैलाई यति अपील गर्न चाहन्छु, ब्यक्तिगत रुपमा मेरा लागि कसैले पनि आवाज उठाउनु पर्ने होइन, तर राष्ट्रिय स्वतन्त्र पार्टी, यो बेथिति र विसंगति विरुद्ध, यिनै प्रहारहरुको बिरुद्ध लड्दै उभिएको पार्टी हो । यो एउटा अभियान हो, एउटा ब्यक्तिको कुरा होइन । ब्यक्तिका रुपमा म आजीवन जेल बस्न तयार छु । झुटा मुद्दा लागोस्, सही मुद्दा लागोस, मलाई त्यसको परवाह छैन, तर यो अभियान रोक्ने जुन कुनियतका साथ गरिएको प्रहार छ नि, आम नागरिकलाई म यो प्रहारको विरुद्ध एक हुन अनुरोध गर्न चाहन्छु । मेरो रिहाइका लागि होइन, न्यायका लागि, सत्यका लागि । र यो परिवर्तनको जुन आवाज छ, यसलाई निरन्तरता प्रदान गर्नका निमित्त म ध्यानपूर्वक हेर्नका लागि म हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु । शान्तिपूर्ण तरिकाले सरकारलाई खबरदारी गर्नका लागि म सम्पूर्णका लागि अनुरोध गर्न चाहन्छु र म फेरि पनि भन्न चाहन्छु सरकारले जसरी बाध्यताबस आफ्नो बाध्यताका लागि अर्कालाई फसाउने नियत राखेर यो कार्य गरेको छ, म सम्पूर्ण जनसमुदायलाई यसलाई नजिकबाट हेर्नका लागि अपिल गर्न चाहन्छु । नमस्ते ।”
खबरकुञ्ज