बेसीशहर । इस्लाम धर्मावलम्बीहरुले आज बकरइद (इद उल अजहा) पर्व धुमधामसंग मनाउँदैछन् । बकरइद इस्लामहरूको रमाजानपछिको दोस्रो ठूलो चाड हो ।
रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा कतिपय मुस्लिम धर्माबलम्बीहर हज गर्न साउदी अरबको मक्का मदिना समेत जाने गर्छन् ।
इद पर्वमा अल्लाह (मुसलमानहरुका देवता) लाई खुसी पार्न मुस्लिम समुदायले बलि (कुर्बानी) दिने चलन छ । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरुले इस्लामहरूको पर्व बकर इदको शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले बकर इद पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।
उपराष्ट्रपति यादवले पनि शुभकामना दिंदै यो पर्वलाई शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु-अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बकर इदका अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दैे बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको नेपालमा विविधताभित्रको एकता नै राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् ।