माथिल्लाे मर्स्याङदी २ विरूद्ध स्थानीयले छेडे आन्दोलन, विद्युत उत्पादन बन्द गर्ने चेतावनी

बेसीशहर, बैशाख २२ गते । लमजुङमा माथिल्लो मर्स्याङदी २ जलविद्युत आयोजनाको प्रबर्द्धक सिनो हाइड्रो सगरमथा पावर कम्पनी लि.का बिरुद्ध उत्तरी लमजुङका बासीन्दाले आन्दोलन छेडेका छन् ।

आयोजनाको प्रभावित क्षेत्र मर्स्याङदी गाउँपालिकाको वडा नंं ३, ६, ७ र ८ का बासीन्दाले राखेका जायज मागको वेवास्ता गरी झुलाउने र पछिल्लो समय आयोजनाले उल्टै ती माग पेश गर्ने संघर्ष समितिलाई धम्कीयुक्त पत्र पठाएपछि स्थानीय आक्रोसित भई आयोजनाको विद्युत उत्पादन नै रोकिदिनेसम्मको चेतावनी दिएका हुन् ।

आयोजना प्रभावित क्षेत्रका बासीन्दाले धेरै समय अघिदेखि नै माथिल्लो मर्स्याङदी २ जलविद्युत आयोजनामा स्थानीय सरकार तथा समन्वय समिति मार्फत जनताका विभिन्न जायज मागहरु राखेकोमाविभिन्न माग राख्दै आएका छन् । तीमधये स्थानीयले जल्गिनी अर्खलेबेसी सडकको स्तरोन्नतिलाई प्रमुख रुपमा उठाउँदै आएका छन् ।

उक्त आयोजनाको प्रबद्र्धक कम्पनीले पटक पटक सडकको स्तरोन्नति गरिदिने मौखिक आश्वासन दिए पनि लामो समय सम्म पनि सडक स्तरोन्नतिमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

पछिल्लो समय माग पुरा गराउन दवाव दिने उद्देश्यले स्थानीय बासीन्दाले एक संघर्ष समिति समेत गठन गरेका छन् । युवा घले संयोजक र लोकनाथ घिमिरे सदस्य सचिव रहने गरी गठित उक्त संघर्ष समितिले गत चैत ३ गते वैठक बसी आयोजनाको कार्यालयमा मर्स्याङदी नदीमा १० प्रतिशत पानी अनिवार्य रुपमा छोड्न र जल्गेनीदेखि अर्खलेबेसी सम्मको सडक स्तरोन्नति, स्थानीय बासीन्दालाइ १० प्रतिशत शेयर, स्थानीय  युवाहरूलाइ राेजगारी, लगायतका विभिन्न विषय समावेश गरी मागपत्र पेश गरेको थियो ।

आयोजनाले माग अनुसार नदीमा १० प्रतिशत पानी छोड्ने माग सम्बोधन गरेकोले आयोजनालाई धन्यवाद दिइएको संघर्ष समितिका सदस्य सचिव लोकनाथ घिमिरेले बताए ।

स्थानीयले सडकको स्तरोन्नति हुने आशामा आयोजनालाई आफ्नो घरजग्गा सस्तो मूल्यमा उपलब्ध गराएका थिए । आयोजनाले समेत सडकको स्तरोन्नति गरिदिने पटक पटक प्रतिबद्धता जनाएको थियो । आयोजना शुरु भएर निर्माण सम्पन्न समेत भइ विद्युत समेत उत्पादन गर्न थालेको पनि धेरै बर्ष वितिसक्दा समेत सडकको स्तरोन्नतिमा कुनै काम गरेको छैन । अझै पनि त्यस क्षेत्रका बासीन्दा हिउँदमा धुलाम्मे र बर्षातमा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य हुनु परेपछि आन्दोलनको विकल्प बाँकी नरहेको घिमिरेले बताए ।

संघर्ष समितिले आन्दोलनको पहिलो चरण अन्तर्गत कम्पनीको कार्यालयमा मागपत्र पेश गरेको थियो । मागपत्र अनुसार नदीमा पानी छोड्ने मागको सम्बोधन भए पनि अन्य माग पुरा नभएपछि दोस्रो चरणको आन्दोलन अन्तर्गत यही बैशाख २५ गतेदेखि माथिल्लो मस्र्याङदी २ को प्रबद्र्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लि.का सवारी साधनहरु सञ्चालन हुन नदिने निणर्य भएको संघर्ष समितिका संयोजक युवा घलेले जानकारी दिए ।

यति गर्दा समेत माग सम्बोधन नभए संघर्ष समितिले  विशाल जनप्रदर्शन गरी कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने र त्यसो गर्दा समेत माग सम्बोधन नभए आयोजनाको बाँध खोली विद्युत उत्पादन बन्द गर्ने चेतावनी दिएको छ । आवश्यकता अनुसार आन्दोलनका अन्य कार्यक्रम तय गर्न बृहत भेला आयोजना गरिने घलेले बताए ।

प्रतिक्रिया