बेसीशहर, पुस २४ गते । लमजुङको राईनास नगरपालिका वडा नंं ७ धमिलीकुवामा रहेको धमिलीकुवा स्वास्थ्य चौकीमा अब अल्ट्रासाउण्ड सेवा शुरु हुने भएको छ ।
स्वास्थ्य कार्यालय लमजुङ मार्फत स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन प्राप्त भएपछि स्वास्थ्य केन्द्रले यो सेवा दिने भएको हो । उक्त अल्ट्रासाउण्ड मेसिन राईनास नगरपालिका नगर प्रमुख खड्ग बहादुर गुरुङले धमिलिकुवा स्वास्थ्य चौकीमा सोमबार आयोजित एक विशेष समारोहबीच स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं स्वास्थ्य चौकी प्रमुखलाई हस्तान्तरण गरेका छन् ।
गर्भवती महिलाहरुको समय मै गर्भ जांच गरि भविस्यमा हुने जटिलताबाट बचाउने उद्देश्यले स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
धमिलिकुवा स्वास्थ्य चौकीले अब यो सेवा नियमित उपलब्ध हुने भएकोले यस संस्था संगै सम्पुणर् पाएक पर्ने स्वास्थ्य संस्थाका गर्भवती महिलाहरुले त्यहाँबाट सेवा लिन सक्ने बताएको छ । स्वास्थ्य केन्द्र पायक नपर्ने स्थानमा रहेका गर्भवतीहरुका लागि घुम्ती शिविर संचालन गरिने पनि राईनास नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गोविन्द चिलुवालले जानकारी दिए ।