त्रिवेणी कप फुटबलकाे पुरस्कार राशीमा भारी बृद्धि पाेखराकाे आहा रारा गोल्डकपकाे बराबरी

खबरकुञ्ज

बेसीशहर, मंसिर १५ गते । यही आउँदो पुस १२ गतेदेखि २० गतेसम्म बेसीशहरमा सञ्चालन हुने गण्डकी प्रदेशकै प्रतिष्ठित र लमजुङको सर्वाधिक पुरस्कार राशी रहेको ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगिताको पुरस्कार राशीमा यस बर्ष फेरि भारी बृद्धि गरिएको छ । 

राष्ट्रिय लिगको शीर्ष स्थानमा रहेका ए र बी डिभिजन क्लवको सहभागिता रहने उक्त प्रतियोगिताको बिजेताले १२ लाख नगद, त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र र उपबिजेताले ६ लाख रुपैयाँ नगद, रजत पदक र प्रमाणपत्र पाउने छन् । गत बर्ष उपाधि विजेताले नगद ८ लाख र उपबिजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने गरेकामा खेलको स्तर बृद्धिका लागि यस बर्ष पुरस्कार राशीमा भारी बृद्धि गरिएको क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए ।

त्रिवेणी कप फुटबल प्रतियोगिताका सम्बन्धमा जानकारी दिन शनिबार बेसीशहरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले ३१ औं त्रिवेणी कपमा स्वदेश तथा विदेशका चर्तित टीमहरुको सहभागिताले उत्साही हुँदै  पुरस्कार राशीमा बृद्धि गरिएको जानकारी दिए ।

योसंगै त्रिवेणी कप फुटबलको पुरस्कार राशी पोखरामा आयोजना हुने आहा रारा गोल्डकपकाे बराबरी हुन पुगेको छ ।

त्रिवेणी क्लवले स्थापनाकालदेखि नै हरेक बर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । लमजुङमा फुटबलको कुम्भमेला मानिने यो प्रतियोगिता त्रिवेणी कपको ३२ औं श्रृंखला हो । नेपालको फुटबल ईतिहासकै गौरब मान्न सकिने यो प्रतियोगिता कोभिडको समय बाहेक अबिछिन्न रुपमा सञ्चालित छ ।

प्रतियोगितामा सेमीफाइनल पुग्ने २ टीमले नगद २÷२ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, स्वर्णपदक र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई २५ हजार, स्वर्णपदक र प्रमाणपत्र र अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र दिइने छ ।

गत बर्षकाे ३१ औं त्रिवेणी कपको उपाधी लालीगुराँस युथ क्लव भुजुङले उचालेको थियो ।


त्रिवेणी क्लवले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । क्लवका पूर्व अध्यक्ष लोेकेन्द्र गुरुङले प्रतियोगितामा देशका प्रतिष्ठित १६ वटा टीमको सहभागिता रहने र प्रतियोगिताका लागि यस बर्षदेखि दर्ता शुल्क नलाग्ने ब्यवस्था मिलाइएको जानकारी दिए ।

बेसीशहरको सहजी खेल मैदानमा हुने प्रतियोगिताका लागि ८४ लाख रुपैयाँको आय ब्ययको अनुमान गरिएको छ ।

फुटवल प्रतियोगिता सँगै क्लवले पुस १५ गते ल्होसारका दिन बेसीशहरमा सडक महोत्सवका साथ त्रिवेणी साँझ पनि गर्ने भएको छ ।


प्रतिक्रिया