नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनल यात्रा तय गरेकाे हाे ।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे । कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारीले २५ रन बनाए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै सिंगापुरलाइ १८५ रनकाे चुनाैति दिएको थियो। तर सिंगापुर ३१.३ ओभरमा ८७ रन बटुल्दै अलआउट भयो ।

सिंगापुरकाे पारी कमजाेर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । उनले २.३  ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पाेखरेल, सन्ताेष यादव, अशाेक धामी र नरेनले १/१ विकेट लिन सफल रहे ।

सिंगापुरका लागि ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि मैदानमा छिरेका रहील थाक्करले ओपनर राेशन रविचन्द्रनसंग ४३ रनकाे साझेदारी गरे । सिंगापुरका लागि रविचन्द्रनले सर्वाधिक २४ रन, कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रन बनाएबाहेक अरूले दाेहाेराे अंक जाेड्न सकेनन् ।

नेपालले फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको छ ।

प्रतिक्रिया