बेसीशहर, माघ १ गते । लमजुङको राइनास नगरपालिका वडा नं. ८ भेटघाट चोकमा गोरु जुधाई प्रतियोगिताको पाँचौ श्रृंखला मंगलबार सम्पन्न भएको छ ।
यस ठाउँमा विगत ५ बर्षदेखि हरेक बर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने प्रतियोगिता आयोजना हुने गरेको छ । यस बर्षको प्रतियोगितामा १६ वटा गोरु प्रतिस्पर्धामा ल्याइएको थियो ।
मंगलबार राइनासको वडा नं. ८ मा गोरु जुधाइ प्रतियोगिता हेर्न सयौं मान्छे भेला भए । प्रतियोगितामा तनहूँको भानु नगरपालिका वडा नं. १० दूधेकुनाका किसान विष्णु रावलको गोरु प्रथम, लमजुङको राइनास नगरपालिका वडा नंं ८ का मकुल मियाको गोरु द्वितीय र सुन्दरबजार ७ कुमालटारका कुमराज परियारको गोरुले तृतीय स्थान जिते । प्रतियोगितामा परियारकै अर्को गोरु उत्कृष्ट गोरु ठहरियो ।
विजयी गोरुधनी किसानहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय पुरस्कार दिइयो ।
लमजुङको राइनास नगरपालिका वडा नं. ८ र ९ का किसानहरुको आयोजनामा गोरु जुधाइ प्रतियोगिता गरिएको हो । प्रतियोगिताका लागि राईनास नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।
कुनै समय थियो, किसानका घर घरमा गोरु पालिन्थ्यो । गोरु पाल्ने किसानको छुट्टै सान हुन्थ्यो । त्यसमाथि बलियो, ठूलो जुरो भएको र ठाडो मुण्टो गरेर जोत्ने गोरुलाई उत्कृष्ट गोरु मानिन्थ्यो । अझ जुध्ने र गाउँका अरु गोरुलाई जित्ने गोरुको भाउ नै अर्कै हुन्थ्यो । गोरु मालिकको सान हुन्थ्यो । विस्तारै गोरु पाल्ने परम्परा हराउँदो छ । आधुनिक प्रविधिको विकाससंगै खेत जोत्न हाते ट्रयाक्टरको प्रयोग बढिरहँदा गोरु पाल्ने किसानहरु घटिरहेका छन् । अहिले गाउँघरमा कसै कसैका घरमा मात्र गोरु पालिएको देखिन्छ ।
नुवाकोट लगायतका केही जिल्लामा धेरै बर्ष अघिदेखि गोरु जुधाउने परम्परा चल्दै आएको छ । लमजुङमा भने केही बर्षयता गोरु जुधाउने गरिएकोमा अब गोरु जुधाइ परम्परा बनिसकेको छ । बिशेषतः मनोरञ्जनका लागि यस्तो कार्यक्रम गरिए पनि पर्यटकका लागि भने आकर्षणको बिषय बन्न थालेको छ ।
भिडियाे हेर्नुहाेस् ।