बेसीशहरकाे रानीकुवामा गाउँशहर प्रवेशद्वार निर्माण शुरू

बेसीशहर, बैशाख २८ गते । लमजुङको गाउँशहरसहित पुरानोकोट र नाल्मा जाने सडकमा प्रवेशद्वार निर्माण थालिएको छ ।

डुम्रे बेसीशहर चामे सडक अन्तर्गत बेसीशहर नगरपालिकाको वडा नं. ३ को रानीकुवाबाट पश्चिमतर्फ मूल सडकबाटै देखिने गरी प्रवेशद्वार निर्माण गर्न लागिएको हो । बेसीशहर नगरपालिकाले ऐतिहासिक, धार्मिक,  पुरातात्विक एवं पर्यटकीय स्थल गाउँशहर र पुरानोकोट तथा नाल्मा जाने सडक प्रवेशद्वार निर्माण शुरु गरेको हो । यसको नाम गाउँशहर प्रवेशद्वार राखिएको छ ।

प्रवेशद्वारको नगरप्रमुख गुमानसिंह अर्यालले शुक्रबार एक समारोहबीच शिलन्यास गरेका छन् । सो अवसरमा नगर उपप्रमुख पद्मा गुरुङ, वडा नं. ३ का अध्यक्ष चित्र बहादुर दनाई, वडा नंं ४ का अध्यक्ष गमबहादुर गुरुङ, वडा नंं ५ का अध्यक्ष ईन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य श्रीनाथ दुलाल, समाजसेवी दीपकराज बराल लगायत उपस्थित थिए ।

चौविसे राज्यमध्ये शक्तिशाली मानिएको तत्कालीन लमजुङ राज्यको राजधानीसमेत रहेको सुन्दर गाउँशहर एवं पुरानोकोट र नाल्मा जोड्ने उक्त सडकको जिरो कि.मीमै त्यस क्षेत्रको ऐतिहासिकता एवं धार्मिक पक्ष झल्कने चित्रहरु अंकित गरी प्रवेशद्वार निर्माण गर्न लागिएको बेसीशहर नगरपालिका ३ का वडा अध्यक्ष चित्रबहादुर दनाईले बताए । उनका अनुसार बेसीशहर नगरपालिकाको २० लाख रुपैयाँको लागतमा प्रवेशद्वार निर्माण गर्न लागिएको हो ।

सो सडक हुँदै गाउँशहर, शान्ति स्तुपासहित पुरोनोकोट र नाल्मा हुँदै पोखरासम्म जान सकिन्छ । प्रवेशद्वार बनेपछि जो कोहीले पनि डुम्रे बेसीशहर चामे सडकबाटै गाउँशहर क्षेत्रमा जाने बाटो देख्नेछन् ।

प्रवेशद्वारको लम्बाई ९ मिटर र उचाई ११ मिटर रहने बताइएको छ ।

प्रतिक्रिया