बेसीशहर, साउन ८ गते । चालकसहित ६ जना बाेकेर बिहीबार दिउसाे बेसीशहरबाट खुदीतर्फ जाँदै गरेकाे अटाे डुम्रे बेसीशहर चामे सडक अन्तर्गत बेसीशहरको वडा नंं ६ खरखरे भीरबाट मर्स्याङदीमा खसी दुर्घटना हुँदा अटाेमा सबार सबै घाइते भएका छन् ।
बेसीशहरबाट खुदीतर्फ जाँदै गरेको ग.प्र.४००१ह ०२८५ नम्बरको अटो आज दिउसो १ बजेतितिर खरखरे भीरबाट मर्स्याङदी नदीमा खसी दुर्घटना भएको हो ।
चालकसहित ४ जना सम्म बाेक्ने क्षमता भए पनि उक्त अटाे बढी यात्रु बोकेर गुडेकोमा खरखरे भीरमा अनियन्त्रित भइ सडक भन्दा करीब १ सय मिटर तल मर्स्याङदी नदीमा खसेर डुबेको थियो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीय तथा अन्य यात्रुहरुको सहयोगमा अटोमा सवार चालकसहित घाइतेहरुको उद्दार गरेको थियो । घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहर ल्याइएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा अटो चालक लमजुङको मर्स्याङदी गा।पा। ४ ताघ्रिङ बस्ने बर्ष ३० का टोप बहादुर लामा, गोरखा आरुघाट गाउँपालिका मानगाँउ घर भई बेसीशहर नगरपालिका ६ चनौटे बस्ने बर्ष ३५ कि अन्जली गुरुङ र बर्ष ४८ कि धन कुमारी गुरुङ, ४० बर्षकी शिलादेवी गुरुङ, ४५ बर्षकी स्यानु माया गुरुङर नुवाकोटको दादी गाउँपालिका घर भई बेसीशहरको वडा नंं ६ बस्ने ४५ बर्षकी सुस्मिता गुरुङ रहेका छन् ।
घाइते मध्ये स्यानुमाया र र सुस्मिताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मर्स्याङदीमा डुबेकाे अटाेकाे खाेजीकार्य भइरहेकाे छ ।
खबरकुञ्ज