नमूना अस्पतालमा एचडिसिएसकाे काे १ बर्षः साँच्चिकै नमूना बनाउने प्रयास

कल्पना शर्मा दनाई

सुन्दरबजार, पुस १८ गते । २१ बर्षसम्म लमजुङ जिल्ला अस्पतालको ब्यवस्थापन गरेको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले नमूना सामुदायिक अस्पताल सुन्दरबजारको ब्यवस्थापनमा समेत उत्कृष्ट काम गरेको पाइएको छ । अस्पताल सञ्चालनकाे एकबर्षकाे अबधिमा एचडिसिएसले नमूना अस्प्ताललाइ कामले समेत नमूना बनाउन खाेजेकाे देखिएकाे हाे ।

सन् २०२३ को जनवरी १ देखि नमूना अस्पताल सञ्चालनको जिम्मा लिएको एचडिसिएसले एक बर्षको अवधिमा १४ हजार बढी विरामीलाई सेवा दिएको छ । जसमध्ये ७ हजार ५ सय ५४ जनाले निःशुल्क सेवा प्राप्त गरेका अस्प्तालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । यस अवधिमा अस्पतालका लागि आवश्यक उपकरणहरुको ब्यवस्था गरी एपेण्डिसाइटिस, हर्निया तथा हाइड्रोशिल जस्ता रोगको जटिल शल्यक्रिया सेवासमेत अस्पतालले सञ्चालन गरेको छ । 

यसबाहेक अस्पतालमा प्रयोगशाला, डिजिटल एक्सरे, भिडियो एक्सरे उपकरणहरुको नयाँ ब्यवस्थापन गरी अस्पताललाई २५ शैयामा विस्तार गरिएको अस्पतालले जनाएको छ । 

अस्पताल सञ्चालनका एक बर्ष पुरा भएको अवसर पारेर अस्पताले सोमबार पत्रकार सम्मेलन गरी वितेको एक बर्षमा १४ हजार ३ सय ६८ जना विरामीहरुलाई बहिरंग सेवा र १ हजार १ सय २६ जना विरामीहरुलाई अन्तरंग सेवा प्रदान गरिएको जानकारी दिएको हो । यस अवधिमा ५ वटा विभिन्न ग्रामीण क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि २ हजार ८ सय १० जनालाई निःशुल्क उपचार गरिएको अस्पतालका प्रमुख श्रेष्ठले जानकारी दिए ।

अस्पताल प्रमुख श्रेष्ठका अनुसार अस्पतालमा एक बर्षको अवधिमा २ हजार ६ सय ६४ जनाले  आकस्मिक सेवा, ३ हजार ३ जनाले दन्त सेवा लिएका छन् । अस्पतालमा ५ सय जनाले खोप सेवा, १ हजार ५ सय २४ जनाको सामान्य शल्यक्रिया र ११ जनाको जटिल प्रकारको शल्यक्रिया गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

एक बर्षको अवधिमा अस्पतालमा ६ हजार ९ सय १ जनाले प्रयोगशाला सेवा, ३ हजार ५ सय २९ जनाले एक्सरे सेवा, २ हजार १ सय ६६ जनाले भिडियो एक्सरे सेवा र ८ सय ३४ जनाले इसिजी सेवा, १६ जनाले सुरक्षित प्रसुति सेवा लिएका छन् । अस्प्तालमा एकजना सुत्केरीको जटिल प्रकारको सेवा प्रदान गरिएको र ५ जना सुत्केरीको शल्यक्रिया गरिएको छ ।

एक बर्षको अवधिमा अस्पतालमा भौतिक संचरना निर्माण र मर्मत सम्भारमा झण्डै एककरोड रुपैयाँ खर्च भएको अस्पताल प्रमुख श्रेष्ठले बताए । उनका अनुसार मेडिकल उपकरण तथा फर्निचर खरिदमा एककरोड २१ लाख र निशुल्क कार्येक्रममा झण्डै २० लाख रुपैयाँ अस्पतालले खर्च गरेको छ । उनले तलब, औषधि, मेडिकल सामग्री समेत गरी अस्पतालको नियमित खर्च तीनकरोड ६ लाख ३१ हजार रहेकोमा अस्पतालको आन्तरिक आम्दानी भने २ करोड ७७ लाखमात्र भएको जानकारी दिए ।

आगामी दिनमा अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउँदै अस्पताललाई आत्मनिर्भर बनाउने, प्रदेश सरकारबाट २५ शैयाको स्वीकृत लिने, स्वास्थ्य बिमा बोर्ड बाट स्वास्थ्य बीमाको स्वीकृत लिने, टेलिमेडिसिन सेवा, आँखा उपचार, फिजियोथेरापी तथा हार्डजोर्नी तथा, बालरोग विशेषज्ञ सेवा संचालन गर्ने योजना अस्पतालले बनाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया