लमजुङका ८३ वटा विद्यालयमा शान्ति सुरक्षा सम्बन्धी प्रशिक्षण सामाग्री अध्यापन हुने

बेसीशहर, चैत्र ७ गते । लमजुङ जिल्लाका ८ वटै स्थानीय तहका ८३ वटा विद्यालयहरुले शान्ति सुरक्षामा विविध बिषयहरु समेटिएको जनचेतनामुलक प्रशिक्षण सामाग्री अध्यापन गराउने भएका छन् ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङले स्थानीय नियकासंग सहकार्य गरी ती विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा अपराध, अपराधको रोकथाम, सामाजिक विकृति विसंगति, लागू औषध, प्रविधिको प्रयोगबाट बढ्दै गइरहेको विभिन्न अपराधहरू र कानूनी प्रावधान सम्बन्धमा जानकारी गराई अपराध विरुद्ध सचेतना अभिवृद्धि गरी शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने लक्ष्यका साथ प्रशिक्षण सामग्री उपलब्ध गराएकाे छ ।

यसका लागि ती विद्यालयहरुसंग जिल्ला प्रहरी कार्यालयले सम्झौता समेत गरेकाे छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी मीनबहादुर घलेले समाजमा अपराध रोकथाम वा न्युनिकरणका लागि प्रहरी प्रधान कार्यालयले तयार पारेकाे पाठयक्रम ती विद्यालयहरूमा अध्यापन गराइने छ । सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद्, जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका सङ्केत र बचाउने उपाय, घटनास्थलको सुरक्षा र अपराध तथ्याङ्क पद्धतिका बारेमा पाठ्यक्रममा सामग्री राखिएको र यसले अपराध नियन्त्रण र न्यूनिकरणका लागि सहयोग पुग्ने विश्वास लिइएको घलेले बताए ।

दुई बर्ष अघि जिल्ला प्रहरी कार्यालय चितवनले गरेको यस किसिमको कार्यक्रम प्रभावकारी भएपछि प्रहरी प्रधान कार्यालयले पाठ्यक्रमलाई केही परिमार्जन गरी ७७ वटै जिल्लामा लागू गराउन निर्देशन दिए अनुसार लमजुङमा पनि यो अभियान सञ्चालन गरिएको हो ।

स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम समझदारी पत्रमा त्रिपक्षीय हस्ताक्षर गरिएको छ । साे जनचेतनामुलक पाठ्य सामाग्री लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख, प्रशासकीय अधिकृत, शिक्षा अधिकारी  र जिल्ला प्रहरी प्रमुखको रोहबरमा माध्यमिक स्तरका सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गरिएको छ ।

लमजुङ जिल्लामा रहेका स्थानीय तह मध्ये बेसीशहर नगरपालिकाका १४, सुन्दरबजार नगरपालिकाका १३, मध्यनेपाल नगरपालिकाका १३, राईनास नगरपालिकाका ११, क्व्होलासोथार गाउँपालिकाका ९ , दुधपोखरी गाउँपालिकाका ५ , दोर्दी गाउँपालिकाका ८ र मर्स्याङदी गाउँपालिकाका १० गरी जम्मा ८३ वटा विद्यालयहरुलाई हस्तान्तरण गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाइँले जानकारी दिए ।

प्रतिक्रिया