सुन्दरबजार माघ २० । लमजुङको सुन्दरबजार र तनहूँको उत्तरी क्षेत्रका नागरिकलाई मधुमेह लगायतको रोगका लागि रगत जाँच गर्न बेसीशहर वा दमौली पुग्न नपर्ने भएको छ ।
यहाँको सुन्दरबजार अस्पताललाई नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखाले मधुमेह जाँच गर्ने उपकरण उपलब्ध गराएपछि त्यहाँका नागरिकलाई सहज हुने भएको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ४ लाख रुपैयाँ पर्ने मधुमेह जाच गर्ने HBA1C उपकरण प्रदान गरेको हो । शुक्रबार सुन्दरबजार अस्पतालमा आयोजित एक समारोहबीच नेपाल बैंक लिमिटेड सुन्दरबजारका शाखा प्रबन्धक रिम बहादुर थापाले सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइराला, अस्पतालका अध्यक्ष विष्णुकुमार श्रेष्ठ र अस्पतालका प्रमुख डा. हाेमबहादुर गुरूङलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै सुन्दरबजारका मेयर कोइरालाले उक्त उपकरण प्राप्त भएपछि सुन्दरबजार र आसपासका जनतालाई ठूलो राहत मिल्ने बताए । उनले अस्पताललाई सुविधा सम्पन्न गर्न नगरपालिकाले प्रयास गरिरहेको भन्दै छिटै थाइराइड जाँच गर्ने उपकरणसमेत ल्याइने जानकारी दिए ।
सो अवसरमा नेपाल बैंक लिमिटेड सुन्दरबजारका शाखा प्रमुख रिमबहादुर थापाले बैंकले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सामाजिक कार्य गर्दै आएको र सुन्दरबजार अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको उपकरण हस्तान्तरण कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा न ०७ का वडाध्यक्ष जयराम रेग्मी, सुन्दरबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पिया, मातृभुमि बहुमुखी क्याम्पसका प्रमुख रामलाल श्रेष्ठ, लमजुङ उद्योग बाणिज्य संघका पूर्व कार्यबहाक अध्यक्ष तथा एभरेष्ट सहकारीका अध्यक्ष रामबाबु श्रेष्ठ, लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार ईकाइका अध्यक्ष आनन्दराज श्रेष्ठ, सुन्दरबजार चेम्बर अफ कमर्सका उपाध्यक्ष निपेन्द्र श्रेष्ठ, अस्प्तालका जग्गादाता रमेशबाबु सापकोटा, लगायतले सुन्दरबजार अस्पताललाई सुविधा सम्पन्न बनाई लमजुङ तथा तनहूँका जनतालाई सेवा दिनुपर्ने बताएका थिए ।
खबरकुञ्ज