बेसीशहरमा पाेथी चितुवा मृत अबस्थामा भेटियाे

खबरकुञ्ज

बेसीशहर, चैत ५ गते । लमजुङकाे बेसीशहर नगरपालिका वडा नं. ६ मा मृत अवस्थामा एउटा चितुवा भेटिएकाे छ ।

बेसीशहरकाे वडा नंं ६ भलाम शेरामा रहेकाे भँगेरथान सामुदायिक बन नजिकै साेमबार बिहान एउटा पाेथी चितुवा मृत अबस्थामा भेटिएकाे हाे ।

प्रहरी चौकी खुदीले चितुवा मरेको खवर दिए पश्चात् डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थल पुगी मृत अवस्थाको पोथी चितुवा फेला पारेकाे हाे । चितुवाकाे मुखमा चोट लागेको, भोको भई कमजोर अबस्थामा देखिएको डिभिजन वन कार्यालय लमजुङले जनाएकाे छ । वन कार्यालयकाे टाेलीले मृत चितुवालाइ बोरामा राखि डिभिजन वन कार्यालयमा ल्याई गाडेको छ ।


डिभिजन वन कार्यालयले चितुवाको मृत्युको कारण शंकास्पद देखिएकोले थप अनुसन्धान भइरहेको जनाएकाे छ । चितुवा संरक्षित जनावर हाे र यसलाइ मार्न पाइँदैन । चितुवाले पारिस्थितिकीय प्रणालीलाई सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने र चितुवाले मानिस तथा पशुधनलाई क्षति गरेमा सरकारले पिडितलाई राहत उपलव्ध गराउने भएकाले कसैले पनि चितुवा लगायत वन्यजन्तुलाई मार्ने कसुर नगर्न नगराउन डिभिजन वन कार्यालयले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया