पूर्व प्रहरी हवल्दार सीता कँडेलका हत्यारा ८ महिनापछि पक्राउ

मिलन शर्मा दनाई

बेसीशहर, १९ चैत । ८ महिना अघि लमजुङको बेसीशहर नगरपालिका वडा नंं २ भकुण्डेमा हत्या गरिएकी सीता कँडेलका हत्यारालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ निवासी ४७ बर्षका बुद्धिराम दराइ हत्या अभियाेगमा पक्राउ परेका हुन् । उनलाई सिआइबीको सहयोगमा नेपाल भारत सीमाबाट पक्राउ गरिएको आज लमजुङ प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कँडेलको हत्या अभियोगमा पक्राउ परेका दराई आराधिक पृष्ठभूमिका ब्यक्ति रहेको प्रहरीले जनाएको छ । निज दराई यस अघि गोरखा जिल्ला अदालतबाट हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका ब्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

घटना अनुसन्धानको क्रममा घटनामा संलग्न भएको आशंका र त्यसलाई पुष्टि गर्ने बिभिन्न तथ्य र प्रमाणका आधारमा दराईलाई मिति सिआइबीको सहयोगमा बिहीबार नेपाल भारत सिमा नजिक जिल्ला रुपन्देही सिद्धार्थनगर न।पा वडा नं १ बेलहियाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र लमजुङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलो पटक दिन ७ को म्याद लिई थप अनुसन्धान शुरु गरिएको बोहराले बताए ।


बोहराका अनुसार प्रतिवादी दराई यसअघि चिनिमाया पाण्डेको हत्या अभियोगमा गोरखा जिल्ला अदालतकोे आदेश अनुसार जन्म कैदको सजाय पाएकामा सर्वोच्च अदालतबाट मिति २०७१ चैत्र १३ गते १२ बर्षको कैद फैसला कायम भई २०७६।असोज ०३ गते धादिङ कारागारबाट छुटेका थिए ।

चितवन कारागारमा रहदा कँडेल र अभियुक्त दराईबीच चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कारागारबाट छुटेपछि दराईले मृतकको घरमा आउजाउ शुरु गरेका थिए । पछिल्लो समय दुबैबीच कतिपय विषयमा मतभेद हुने गरेको गत २०८१ चैत्र १२ गते चितवनबाट लमजुङ आई २२ गतेसम्म १० दिन वेसिशहर लगायत मृतकको घर आसपासमा रहि मृतकको गतिविधि निगरानी गरी हत्याको योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । त्यतिबोल कँडेलेको घरमा पाहुना आएका कारण अभियुक्तले उनको हत्या गर्न नसकी २२ गते चितवन फर्केका थिए । पुनः चैत २६ गते पुन लमजुङ आई राती नै हत्याको योजना बनाई चैत २७ गते विहान घटना घटाएका थिए । कँडेलको हत्यापछि शवलाई लोबोड पलङ भित्र लुकाई कसैलाई तत्काल शंका नहोस् भनि घरमा ताल्चासमेत लगाई त्यहाँबाट निस्केका थिए ।

त्यहाँबाट निस्कँदा मृतक कँडेलका एक छिमेकीलाई ६ सय रुपैयाँ दिएर झोला सडकसम्म पु¥याउन लगाई आफू भने बेसीशहर आई सार्वजनिक बसमा चढी फर्केका पनि अनुसन्धानले देखाएको छ । केहिदिन पश्चात् उनी भारततर्फ भागी उतै लुकिछिपी रोजगारी गरी बस्दै आएका थिए । हाल नेपालतर्फ आउँदै गर्दा सीमा क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्व प्रहरी हवल्दारसमेत रहेकी मृतक कँडेलको गत चैत २७ गते बेसीशहरकाे वडा नंं २ भकुण्डेमा रहेकाे आफ्नै घरमा हत्या भएको थियो । हत्यापछि उनकै घरको लो बेड (खाट)भित्र त्रिपालले बेरिएको अवस्थामा तीन दिनपछि उनको शब भेटिएको थियो । त्यसअघि अष्ट्रेलियामा रहेका उनका छोरा बुहारीले छिमेकीलाई आमासंग सम्पर्क नभएको र के कसो हो बुझिदिन आग्रह गरेका थिए । छिमेकीहरुले कँडेलको खोजी गर्ने क्रममा उनकै घरमा दुर्गन्ध फैलिएको खबर प्रहरीलाई दिएपछि प्रहरीले घरको ताला तोडी हेर्दा लोबेड भित्र त्रिपालले बेरिएको र सडेगलेको अवस्थामा उनको शब फेला पारेको थियो ।

प्रतिक्रिया