बेसीशहरमा भएको खुकुरी काण्डमा संलग्न भएको अभियोगमा एक जना पक्राउ

खबरकुञ्ज

बेसीशहर, जेठ १४ गते । गत जेठ ३ गते लमजुङ सदरमुकाम बेसीशहरमा भएको खुकुरी काण्डमा संलग्न भएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय लमजुङले उक्त काण्डमा संलग्न भएको अभियोगमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ६ बस्ने ४२ बर्षिय किरण गुरुङलाई पक्राउ गरेको हो ।

नेपाल तरुण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनका क्रममा गत जेठ ३ गते बेसीशहरमा तरुण दलको एक पक्षले अर्को पक्षलाई निस्तेज पार्न र एकलौटी अधिवेशन गर्न लागेपछि त्यसको प्रतिकारमा उत्रिएको अर्को पक्षलाई खुकुरी लगायतका हतियार प्रहार गरी लखेटेका थिए ।

नेपाली कांग्रेस लमजुङका दुई नेता तथा गण्डकी प्रदेश सरकारका दुई मन्त्रीहरु क्रमशः जिल्ला सभापति डा टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलको टक्करले उक्त घटना घटेको बताइन्छ । दुवै पक्षले तरुण दलमा आफ्नो बर्चस्व बनाउन कसरत गरेकामा हावी भएको गुरुङ पक्षले पौडेल पक्षलाई खुकुरी, रड, इटा लगायतले प्रहार गर्दा आधा दर्जन घाइते भएका थिए । अधिवेशनको बन्दसत्र चलिरहँदा विरोध गर्न पुगेका पौडेल पक्षका तरुणहरु बेसीशहर ९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुशीजंग गुरुङ, नेविसंघका केन्द्रीय सदस्य सुदिप अधिकारी, नेपाली कांग्रेस लमजुङका सदस्य किशोरजंग बस्नेत, तरुण दल सुन्दरबजारका निवर्तमान अध्यक्ष शंकर सापकोटा लगायत घाइते भएका थिए ।

उक्त घटनामा प्रहरीले आक्रमणकारीहरुबाट हतियार खोसे पनि उनीहरुलाई पक्राउ नगरेको भन्दै विरोध भएको थियो । प्रहरीले नै आक्रमणकारीहरुलाई भगाएको र जाहेरी दर्ता नगरेको आरोप लागिरहेका बेला ब्यापक दबाबकाबीच केही दिन ढिलो गरी प्रहरीले उनीहरु विरुद्ध जाहेरी लिएको थियो ।

जाहेरी लिए पनि घटनामा संलग्न भएकाहरुलाई पक्राउ नगरेको प्रहरीले बुधवार एकजनालाई पक्राउ गरेको जनाउ दिएको छ । पक्राउ परेका गुरुङलाई लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूर मुद्दामा दिन ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया