बेसीशहर, माघ ९ गते । भूमि समस्या समाधान आयोग लमजुङका नवनियुक्त अध्यक्ष दामोदर अधिकारीले लमजुङका सबै भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
अघिल्लो साता सरकारबाट जिल्ला अध्यक्षको रुपमा पुनः नियुक्त भएका अधिकारीले पदस्थापन गर्दै वडातहबाटै भूमिहीन सुकुुम्बासी र अब्यवस्थित बसोबासीको समस्या समाधान गर्नेतर्फ आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
पदस्थापन लगत्तै आयोगको आगामी कार्यक्रमको वारेमा प्रकाश पार्दै उनले कार्यविधि अनुसार जिल्लाका सबै ८ वटा पालिकाका सबै वडामा रहेका भुमिहिनहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई जमीन उपलब्ध गराउने बताए ।
यस अघि कांग्रेस माओवादी गठबन्धन सरकार रहँदा पनि भूमि सम्बन्धी आयोगको जिल्ला अध्यक्ष रहेका अधिकारी उक्त सरकार ढलेसंगै आयोग खारेज हुँदा पदबाट हटेकामा वर्तमान कांग्रेस एमाले गठबन्धन सरकारले गठन गरेको नयाँ आयोगको जिल्ला अध्यक्ष नियुक्त भएका हुन् ।
पदस्थापन गर्दै उनले यस अघि गरिएको कामलाई नै निरन्तरता दिइने जानकारी दिँदै हिजो जहाँ पुगेर काम रोकिएको थियो, त्यहीँबाटै कार्य प्रारम्भ गर्ने दृढता ब्यक्त गरे ।
अध्यक्ष अधिकारीले आफ्नो अघिल्लो कार्यकालमा मस्र्र्याङ्दी गाउँपालिकामा अव्यवस्थित बसोबासीको नाम सिफारिस हुन बाँकी रहेको र क्व्होंलासोंथार गाउँपालिकामा भूमिहीन र अब्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य गर्न बाँकी रहेको तर अन्य पालिकामा धेरथोर काम सम्पन्न भएको जानकारी गराए ।
अधिकारीका अनुसार सुन्दरबजार नगरपालिकामा केही भूमिहीनलाई लालपूर्जा वितरण गर्न बाँकी रहेको, दूधपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी फेला नपरेका र त्यहाँ रहेका अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि वन मन्त्रालयमा पत्राचार गरिएको जानकारी गराए ।
पदस्थापन गर्दै अधिकारीले सुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिका लगायतका क्षेत्रमा भुमिहिन व्यक्ति पहिचान भइसकेको, मध्यनेपाल नगरपालिकामा भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबसीहरुको पहिचानको भइ समितिबाट हुने पहिचानको काम बाँकी रहेको र राइनास नगरपालिकामा जग्गा खोज्ने काम बाँकी रहेको जानकारी गराए ।
अध्यक्ष अधिकारीले आफ्नो यसै कार्यकालमा भूमिहीन र अब्यवस्थित बसोबासीको समस्या समाधान हुने विश्वास ब्यक्त गरेका छन् । आयोगको यस पटकको कार्यविधि अनुसार आयोगलाई सरकार परिवर्तन भए पनि विघटन गर्न नपाइने भएकाले काम गर्न सहज रहेको बताए । समितिले काम गर्न नसकेमा त्यस्तो अवस्थामा ब्यक्ति हट्न सक्ने कार्यविधिका कारण समितिलाई काम गर्न सहज रहेको उनले बताए ।
अध्यक्ष अधिकारीले आयोगको जिल्ला समिति ९ सदस्यीय रहने जानकारी दिँदै राजनीतिक दलबाट सदस्यहरु नियुक्ति गर्न बाँकी रहेको सुनाए । आयोगको जिल्ला समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालयका प्रमुख पदेन सदस्य तथा नापी कार्यालयका प्रमुख सदस्य सचिव रहने ब्यवस्था छ ।
सम्बन्धित वडा कार्यालय र पालिकाले गरेको सिफारिसमा आधारित रही भूमिहीनहरुको पहिचान गरि मालपोत कार्यलयबाट पेश भएका कागजातहरुको परीक्षण गरी प्रमाणिकरण गरिने उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी एवं भुमि आयोग सदस्य रोशन अर्यालले अबको समितिले सुम्पिएको जिम्मेवारी पूरा गर्र्ने विश्वास व्यक्त गर्दै अध्यक्ष अधिकारीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितका प्रमुख पूर्णवहादुर गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतम, नेपाली काँग्रेस लमजुङका उपसभापति आनन्द घिमिरे, डिभिजन वन कार्यालयका प्रमुख दीपक प्रसाद पण्डित, प्रहरी निरिक्षक अभिषेक पाण्डे, आयोगका सदस्य सचिव विनोद श्रेष्ठलगायत उपस्थित थिए ।