बेसीशहर, पुस १७ । लमजुङकाे बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट डिफेण्डिङ च्याम्पियन रामपुर रड्स बाहिरिएकाे छ ।
मंगलबारकाे खेलमा पाेखराका एलजी एसाेसियसनसंग २–१ काे नाटकीय हार ब्यहाेर्दै डिफेण्डिङ च्याम्पियन रामपुर रड्स प्रतियाेगिताबाट बाहिरिएकाे हाे । मंगलबार बेसीशहरकाे त्रिवेणी रंगशालामा भएकाे तेस्राे खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा रामपुर प्रतियाेगिताबाटै बाहिरिन पुगेकाे हाे ।
खेलमा मध्यान्तरअघि सम्म १–० ले अगाडि रहेकाे रामपुरका लागि खेल शुरू भएकाे ५ मिनेटमै जर्सी नंं १० का विक्की चाम्लिङ राइले गाेल गरेका थिए । त्यसपछि मध्यान्तरसम्म कुनै पक्षबाट गाेल हुन सकेन । दाेस्राे हापकाे १७ औं मिनेटमा एलजीका विदेशी खेलाडी जर्सी नंं ९ का जाेन ग्लाेरीले डिबक्सबाट गरेकाे प्रहारलाइ राेक्ने क्रममा रड्सका राम शाहीले हातले राेक्न पुगे । यसबाट उनले एम्पायरबाट राताे कार्ड पाएर खेलबाट बाहिरिनु पर्याे । उनी खेलबाट मात्रै बाहिरिएनन्, एलजीले पेनाल्टी सुटसमेत पायाे । यही पेनाल्टीलाइ सदुपयाेग गर्दै एलजीका लागि सराेज टिटुङले खेललाइ बराबरीमा ल्याउन सफल भए ।
राम शाहीले राताे कार्ड पाएपछि १० खेलाडीमा सिमित भएकाे रड्सका खेलाडी बिचलित भएनन् । एलजीलाइ थप गाेल गर्न राेकेर खेललाइ ट्राइबेकरमा पुर्याउन उनीहरूले अथक मेहनेत गरे, जसका कारण खेल निकै राेमाञ्चक बन्याे ।
१–१ गाेलकाे बराबरीमा खेलकाे निर्धारित समय सकिएपछि एम्पायरले ७ मिनेटकाे समय थप गरेर खेल खेलाए । त्यसकाे अन्तिम समयमा एलजीका जर्सी नंं १० का खेलाडी अाशिषले डि एरियाबाट दिएकाे पासलाइ उत्कृष्ट ढंगले सम्हाल्दै जर्सी नं ३० का खेलाडी मनाेज गुरूङले उत्कृष्ट गाेल गरेर टीमलाइ क्वार्टर फाइनलमा पुर्याए ।
मंगलबारकै खेलमा सामना युवा क्लव तुरतुरेविरूद्ध ३–१ काे जीत निकाल्दै लालीगुराँस युवा क्लव भुजुङ पनि क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । भुजुङका लागि पहिलाे गाेल निरज चाैधरीले पहिलाे हापकाे २६ औं मिनेटमा गरे । दाेस्राे हापकाे २७ औं मिनेटमा विदेशी खेलाडी डिजिटेले थप एक गाेल गरे । त्यस्तै दाेस्राे हापकाे ३७ औं मिनेटमा सुशिल लामाले डिबक्स बाहिरबाट दिएकाे पासलाइ सुनिल खड्काले ट्याव गर्दै सुन्दर गाेल गरे ।
सामनाका लागि भने जर्सी नंं ११ का राेशन क्षेत्रीले दाेस्राे हापकाे ३२ औं मिनेटमा एकमात्र सान्त्वना गाेल गरेका थिए ।