बालबालिकाको पोषण अवस्थामा सुधार गर्न राइनासमा स्वस्थ बच्चा प्रतिस्पर्धा

बेसीशहर, चैत ५ गते । मातृशिशु स्वास्थ्य सम्बन्धि आवश्यक जानकारी र चेतना नहुँदा बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल प्रभावलाइ कम गर्न र बालबालिकाको पोषण तथा स्वास्थ्यमा सुधारका लागि लमजुङको राईनास नगरपालिकामा स्वस्थ बच्चा प्रतिस्पर्धा गराइएको छ । 

समुदायमा बालबालिकाको पोषण अवस्थामा सुधार गर्ने र अभिभावकमा बालस्वास्थ्यको मुख्य पक्षबारे जानकारीसहित बाल स्याहारमा थप उत्पेरणा जगाउन कार्यक्रम सञ्चालन गरिएको हो । खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपर्‍ुयाउँदा नेपालका धेरै बालबालिका कुपोषणको सिकार हुने गरेको परिप्रेक्ष्यमा बालबालिकाको पोषणका सम्बन्धमा जनचेतना अभिबृद्धि गर्न र उचित पोषण पुर्‍याउने परिवारलाई हौसला दिन यस्तो प्रतिस्पर्धा गराइएको राईनास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नानीबाबु ढकालले बताए ।

ढकालका अनुसार जन्मेपछि नबजात शिशुको हरेक महिना तौल लिनु पर्छ । उनले भने- “अधिकांश अभिभावकहरुले बच्चालाई खोप लगाउन मात्र तौल लिने गरेको पाइन्छ । त्यसो गर्दा शिशुको उमेर बढदै जाँदा सोही अनुपातमा तौल बृद्धि भयो भएन भनेर थाह हुँदैन । शिशुको तौल कम भयो भने उचित पोषण नपुगेको थाह पाउन सकिन्छ । यसै सम्बन्धमा जनचेतना फैलाउनका लागि स्वस्थ बच्चा प्रतिस्पर्धा गराइएको हो ।” 

प्रतिस्पर्धामा राईनासका वडा वडामा प्रथम भएका २७ जना बच्चाहरु सहभागी थिए । 

राईनास नगरपालिका ३ का आयरा अधिकारी प्रथम, राईनास ७ का ग्याङ्सन गुरुङ द्वितीय राईनास ६ का  श्रेयान्स तामाङ तृतीय र राईनास १० का थमन गुरुङ र राईनास ५ का शिवान्स परियारले सान्त्वना स्थान प्राप्त गरे । 

प्रतिस्पर्धाका लागि विभिन्न सूचक निर्धारण गरिएको थियो । सफा अनुहार, सफा कपडा लगाएको, सफा कपाल, सफा हातखुट्टा, सफा दाँत तथा बालबालिकाको पोषण स्वास्थ्य अवस्थाको मूल्यांकन गरिनुका साथै बिरामी हुँदा स्वास्थ्य संस्था लगे नलगेको, नियमित खोप लगाए नलगाएको, तौल र पाखुराको नाप, अभिभावकको पोषण स्वास्थ्यबारे बुझाइ र व्यवहार, शौचालय निर्माण र प्रयोग, जन्मान्तर कायम गरेको, स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सरसफाइमा ध्यान दिएको, पोषणयुक्त खानेकुरा खुवाए नखुवाएको लगायतका सूचक तयार पारिएको थियो ।

प्रतिस्पर्धामा बालबालिकाको पोषण र सरसफाइको अवस्था, बालस्याहार जस्ता पोषणलाई प्रत्यक्ष असर गर्ने मुख्य क्षेत्रगत अवस्थाका आधारमा बालबालिकाको मूल्याङ्कन गरिएको राईनास नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पुरस्कृत बालबालिकाका अभिभावकलाइ राईनासका नगर उपप्रमुख पुष्पराज खनाल लगायतले नगद पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया