काठमाडौं, असार १३ गते । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षकाे एसइइ परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ । यस बर्षकाे नतिजा अनुसार परीक्षामा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत चैत १५ देखि २७ सम्म लिइएकाे परीक्षामा ४ लाख ६४ हजार ७८५ जना सहभागी थिए । सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका छन् ।
यस बर्ष कूल परीक्षार्थीमध्ये १८६ जनाले मात्र ४ जीपीए ल्याएका परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । परीक्षामा सहभागीमध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड नतिजा ल्याएका छन् । परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार द्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था अनुसार नतिजा सार्वजनिक गरेको हाे । यसमा विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णाङ्ककाे परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।
बाेर्डले २०७२ देखि लेटर ग्रेडिङ पद्धति सुरु गरेको हो । २०७८ मा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गरेर ग्रेडिङ हुन न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको थियो ।
सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्ककाे परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुने र त्यस्ता परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न नपाउने बाेर्डले जनाएकाे छ । बाेर्डका अनुसार कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा पनि विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । त्यस्ता विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने ब्यवस्था छ ।
खबरकुञ्ज