लोकप्रिय गायिका सम्झना भण्डारीलाई यस बर्षको बर्ष गायिका सम्मान

मिलन शर्मा दनाई

पोखरा, असोज १२ गते । लमजुङकी लोकप्रिय गायिका सम्झना भण्डारी यस बर्षको उत्कृष्ट गायिकाको रुपमा सम्मानित भएकी छन् । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको पोखरामा जारी २४ औ केन्द्रीय बार्षिक साधारण सभा र बिधान अधिवेशनको उदघाटन समारोहमा उनलाई बर्षको उत्कृष्ट गायिका को सम्मान दिइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको हातबाट उनले उक्त सम्मान पाएकी हुन् । 

सम्मान पाएपछि सम्झनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकममा लेखेकी छन्–“मुख्यमन्त्रीको हातबाट सम्मानित अग्रजहरु सङ्गै देशभरिबाट आएका सयौ प्रतिष्ठान प्रतिनिधीहरुलाई साक्षी राखेर प्राप्त भएको यो सम्मान मेरो जिवनको महत्वपूर्ण क्षणको रुपमा रहिरहेने छ । साङ्गितिक रुपमा सक्रिय रहि नेपाली लोकदोहोरी क्षेत्रमा थप कृयाशिल रहने उत्प्रेरणा सहित प्रदान गरिएको यो सम्मानले मलाई साङ्गितिक उर्जा र हौसला मिलेको छ । यो सम्मानको लागी योग्य सम्झिने हुने प्रतिष्ठान कार्यसमिति परिवार र अध्यक्ष आदरणीय रिता थापा मगर ज्यूप्रति आभारी छु ।”


उनले आफूसंगै बर्ष गायकको रुपमा सम्मानित कुशल बेलवासेलाई पनि बधाई ज्ञापन गर्दै सबै श्रोता दर्शकहरुसंग खुशी साट्न चाहेको उल्लेख गरेकी छन् । 

लोकदोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सम्झनाका थुप्रै गीत लोकप्रिय छन् । पशुपति शर्मासंग उनले गाएको “मेरो माया बसेको ठाउँमा, बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा” भन्ने बोलको गीतको लोकप्रियतासंगै उनलाई पछाडि फर्केर हेर्नै परेन । त्यस भन्दा अगाडि नै उनले थुप्रै गीत गाएकी भए पनि उनलाई यही गीतले माथि उठाइदिएको हो । सम्झना यसै गीतलाई आफ्नो जीवनको टर्निङ प्वाइन्ट हो भन्ने गर्छिन् ।

लमजुङको मस्र्याङदी गाउँपालिका वडा नंं ९ सिम्पानीमा जन्मेकी सम्झना सानैदेखि गायनमा रुचि राख्थिन् । सानैदेखि बिमा कुमारी दुरा, माया गुरुङ, राजु परियार, पशुपति शर्मा, शिरिष देवकोटा लगायतका गायकहरुको गीत मनपराउने उनी ती गीत पनि गुनगुनाउँथिन् ।

विद्यालयमा अध्यापन गर्दा उनी लोकगीतका कार्यक्रममा भाग लिएर पुरस्कार पनि जित्थिन् । परिवारमा विशेषगरी आमाबाट उनले गीत गायनतर्फ हौसला पाएकी थिइन् ।

सानो हुँदा जिल्लामै खुलेको रेडियो मस्र्याङदीमा बज्ने कार्यक्रमले पनि उनलाई गीति क्षेत्रमा लाग्न हौसला दिएको थियो । उक्त रेडियोमा शुक्रबार र शनिबार सञ्चालन हुने लोक मञ्जरी नामको कार्यक्रममा उनी सहभागी हुन्थिन् । फोनइन कार्यक्रम भएकाले श्रोताले रोजेका गीत बज्ने त्यो कार्यक्रममा उनी फोन गर्थिन्, मन परेका गीत साथीहरुलाई सम्झिएर बजाइदिन आग्रह गर्थिन्, कहिलेकाहिँ आफै पनि गाउँथिन् ।

गाउँघरमा मादल बजेको सुन्नासाथ उनी आमासंग त्यता जान तम्सिन्थिन् । कक्षा ७ मा पढ्दा लमजुङ लोकतारा प्रतियोगितामा उनले भाग समेत लिइन् ।

विसं २०७० सालमा सम्झना काठमाडौं गइन् । त्यहाँ आएपछि उनका संघर्षका दिन सुरु भए । केही समय कान्तिपुर मलमा जागिर खाएपछि दोहोरी साँझहरुमा काम गरिन् । कुलेन्द्र विक, राजन ठकुरी, शिव हमाल, पुतलीसडकमा सञ्चालन गरेको बागलुङ कालिका दोहोरी साँझमा गीत पनि गाइन् ।


त्यही बेला उनले काठमाडौंमा भोकल क्लास पनि लिइन् र पुतलीसडकमा रहेको मुर्छुन्ना संगीत विद्यालयमा साढे दुई वर्ष संगीतको कक्षा लिइन्् । 

सम्झनाले पहिलो पटक शिव हमालसंगको सहकार्यमा दशैं तिहार गीत रेकर्ड गरेकी थिइन् । त्यसपछि उनै पृथ्वी थकालीको सहयोगमा उनले ‘तोरी भएछ’ भन्ने गीत गाइन् । यी गीत गाएपछि उनलाई पशुपति शर्माले मेरो माया बसेको ठाउँमा बोलको गीत गाउन अफर गरेका थिए ।

पशुपतिसंग गाएको सोही गीत हिट भएपछि सम्झनाले कुशल बेलबासेसँग ‘माली गाइले बाच्छी चाटेको’, रमेशराज भट्टराईसँग पञ्जेबाजा गीत ‘कहिले हो त सानु’, पशुपति शर्मासंगै ‘स्याङ्जा जाने बाटोमा तनहुँ’, ‘कान्छी बुहारी’, ‘क्यार्न माया मारिछौं’ लगायतका गीत गाइन् । सबै गीत दर्शकले खुबै मन पराए । त्यसपछि खेम सेञ्चुरीसँगको ‘औंठी बेरुवाको’, ‘कपलु कोरेर’ लगायतका गीतलाई समेत श्रोता दर्शकले खुबै मन पराए र उनी हिट गायिकाको रुपमा स्थापित भइन् ।

सम्झनाले अहिलेसम्म २ सय बढी गीतमा आफ्नो स्वर दिइसकेकी छन् । देश विदेशका सांगीतिक कार्यक्रममा उनको माग बढ्दो छ । 



प्रतिक्रिया