सुन्दरबजारको श्रीराम जानकी मन्दिरलाई धार्मिक केन्द्रको रुपमा विकास गरिने

खबरकुञ्ज
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ७ मा रहेको श्रीराम जानकी मन्दिरलाई धार्मिक केन्द्रको रुपमा विकास गरिने भएको छ ।
सुन्दरबजारको मुटुमा रहेको श्रीराम जानकी मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न स्थानीयहरु लागि परेका हुन् । २०४० सालमा स्वर्गिय हर्क बहादुर अधिकारीले चण्डि गुठीको मोहिबाट प्राप्त जग्गा मध्ये १ रोपनी ५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा श्रीराम जानकी मन्दिरको नाममा हस्तान्तरण गरिएकोमा २०६० सालमा आफ्ना स्वर्गिय छोरा सबिन श्रेष्ठको स्मृतिमा श्रीराम मन्दिर ब्यबस्थापन समितिका सल्लाहकार एवं समाजसेवी तथा ब्यबसायी शुकबहादुर श्रेष्ठले श्रीराम जानकी मन्दिरको निर्माण गराएका श्रीराम जानकी मन्दिर ब्यबस्थापन समिति सुन्दर बजारका अध्यक्ष बुद्धिबहादुर अधिकारिले जानकारी दिए । 
हाल मन्दिरमा दैनिक पूजापाठ हुने गरेको छ । दैनिक पूजा पाठका लागि जनकपुरबाट पुजारी कृष्ण प्रसाद रामनिमालाई ल्याइएको छ । पुजारीका अनुसार अहिले दैनिक सयौं भक्तजनहरु मन्दिरमा पूजापाठका लागि पुग्ने गरेका छन । 
राम जानकी मन्दिर परिसरमा २४ फुटको हनुमानको बिशाल मूर्ति स्थापना गरिएको छ । उक्त मूर्ति श्रीराम जानकी मन्दिर ब्यबस्थापन समितिका सचिब स्थानीय ब्यवसायी एवं समाजसेवी रामबाबु श्रेष्ठले निर्माण गरिदिएका हुन् ।
रामजानकी मन्दिर परिसरमै शिव मन्दिर पनि निर्माण गरिएको छ । सुन्दरबजारका समाजसेवी चन्द्रमान श्रेष्ठले यो मन्दिर निर्माण गराएका हुन् । यसका साथै सो स्थानमा दुर्गा भगवतीको मूर्तिसमेत स्थापित छ । सुन्दर बजार नगरपालिका ७ निवासी हाल जापानमा रहेका बिजय अधिकारी , शिल्पा अधिकारी र श्रीया अधिकारीले दुर्गा मन्दिर निर्माण गरिदिएका छन् ।

सोही स्थानमा सुन्दर बजार ७ का ब्यबसायी समाजसेवी हरेराम श्रेष्ठले गणेश मन्दिरको निर्माण गरिदिएका श्रीराम जानकी मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष आनन्द राज श्रेष्ठले जानकारी दिए ।
मन्दिर हातामा करिब १ सयजना अट्ने मिनि सिटिहल निर्माण भएको छ । हाल यो हलमा दैनिक ३५ जनाले नियमित योग अभ्यास गर्ने गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । 
राम जानकी मन्दिरको विकासका लागि स्थानीयसंगै वडा नं. ७ ले समेत योगदान गरेको छ । वडा कार्यालयले मन्दिर हातामा बाल उधान समेत निर्माण गरिदिएको छ ।
उक्त मन्दिरमा बिवाह पन्चमी  बिवाह उत्सबमा भब्य मेला लाग्छ । त्यहाँको शिव मन्दिरमा पितृको नाममा बत्ति बाल्ने, महाशिबरात्रीमा शिबरात्री मेला लाग्ने गर्छ । हरेक बर्ष नवरात्रमा दुर्गा मन्दिरमा चण्डिपाठ गरिन्छ । गणेश मन्दिरमा मङलबार पूजा पाठ गरिने समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । 
सुन्दरबजार ७ का वडा अध्यक्ष जयराम रेग्मीले मन्दिरको बिकासका लागि  आवश्यक भौतिक निर्माण लगायत अन्य कार्यमा वडाको तर्फबाट सदैब सहयोग हुने बताउँछन् ।

मन्दिरको थप ब्यवस्थापन गरी प्रचार प्रसार गर्न रामजानकी मन्दिर सुन्दरबजारको धार्मिक पर्यटनको केन्द्र बन्न सक्ने समितिका उपाध्यक्ष एबं लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार ईकाइका अध्यक्ष आनन्द राज श्रेष्ठ बताउँछन् ।
सुन्दर बजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कुमार श्रेष्ठ सुन्दरबजार लमजुङको प्रमुख शैक्षिक एवं ब्यापारीक केन्द्र रहेकोमा यो शहरलाई धार्मिक केन्द्रको रुपमा पनि बिकास गर्न सके समग्र लमजुङको आर्थिक विकासमा टेवा पुग्न सक्ने बताउँछन् । अहिले धार्मिक केन्द्रका रुपमा विकास हुँदै गएकोमा आफुलाई गौरव लागेको भन्दै उनले यसको विकासका लागि आफूले समेत सकारात्मक र रचनात्मक सहयोग गर्ने बताए ।

प्रतिक्रिया