माधव घिमिरे पार्ककाे उद्घाटन गर्न राष्ट्रपति पाैडेल लमजुङ आउने

मिलन शर्मा दनाई

बेसीशहर, बैशाख १६ गते । राष्ट्रपति रामचन्द्र पौडेल यही बैशाख २१ गते लमजुङ आउने भएका छन् । 

यही बैशाख २१ गते मस्र्याङदी गाउँपालिकाको वडा नं. ६ बाहुनडाँडामा निर्माणाधीन राष्ट्रकवि माधव घिमिरकोे स्मृतिमा निर्माण गरिएको सालिक अनावरण र पार्कको उद्घाटन गर्न राष्ट्रपति पौडेल लमजुङ आउने भएका हुन् ।

स्वर्गिय राष्ट्रकवि माधव घिमिरेको जन्मथलो पुस्तुन बाहुनडाँडामा मस्र्याङदी गाउँपालिकाले माधव घिमिरे पार्कको निर्माण गरिरहेको छ । १४ बर्षको उमेरमै बाहुनडाँडा माथिको हिमालचुली र मुन्तिरको मस्र्याङदीको सुसाईलाई महशुस गरेर कविता लेख्न थालेका माधव घिमिरे कालन्तरमा मुलुकको राष्ट्रकवि बन्न पुगे । नेपाली साहित्यमा महाकाब्य, खण्डकाब्य, गिती नाटक, गीत, फुटकर कविता, निवन्ध, बालसाहित्य र अनुवाद समेत गरी अनगिन्ती साहित्यिक रचना दिएर सदाका लागि अमर बनेका राष्ट्रकविको सम्मानमा उनको जन्मथलोमा पूर्णकदको सालिक सहित पार्क निर्माण गर्न लागिएको हो ।

राष्ट्रकवि घिमिरेले देश र नेपाली भाषा साहित्यमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उनको सम्मान र उनलाई चिरकालसम्म जीवित राख्न राष्ट्रिय रुपमा राष्ट्रकविको पद्वी दिइएको छ । उनको कीर्तिले उनको जन्मथलोमा पनि उनको सम्मानमा सालिक र पार्क निर्माण गरिएको हो । उनको जन्मथलो बाहुनडाँडामा मस्र्याङदी गाउँपालिकाले राष्ट्रकवि माधव घिमिरे पार्कको निर्माण का लागि बृहत गुरुयोजना नै बनाएको छ । गुरुयोजना सम्पन्न गर्नका लागि साढे ६ करोडको बजेट प्रक्षेपण गरिएको छ । 

उक्त पार्कका लागि गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको २० लाख, सामाजिक विकास कार्यालय मार्फत गण्डाकी प्रदेश सरकारबाटै आएको थप ४ लाख र मस्र्याङदी गाउँपालिकाको ३ लाख रुपैयाँबाट पार्कको काम भइरहेको राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेले जानकारी दिए ।

कार्यक्रमबारे जानकारी दिन राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानले बिहीबार बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेले पार्कलाई साहित्यिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य रहेको बताए ।


अध्यक्ष घिमिरेले उक्त पार्क करिब एक रोपनी जग्गामा फैलिएको र नजिकै राष्ट्रकविको घडेरीमा बाल उद्यानको निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क र बाल उद्यान साहित्यिक पर्यटकीय गन्तब्यको रुपमा विकास हुने विश्वास ब्यक्त गरे । विश्व विख्यात अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत पर्ने बाहुनडाँडाको चर्चा र ख्याती माधव घिमिरेको पूर्ण कदको सालिक र पार्कले थप उचो बनाउने विश्वास लिएको उनले बताए ।

उक्त दिन पार्कको उद्घाटन, शालिक अनावरणका साथमा बृहत कवि गोष्ठी लगायत अन्य साहित्यिक गतिविधिहरू समेत आयोजना हुने छन् ।

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेको “गौरी”, “मालती मंगले”, “शकुन्तला” चर्चित कृतिहरु हुन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने कविवर घिमिरे नेपाली साहित्य आकासका चम्किला तारा हुन् । १०१ बर्षको उमेरमा वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित आफ्नै निवासमा उनको निधन भएको थियो ।


प्रतिक्रिया