राष्ट्रिय महिला फुटबलकी कप्तान, गाेलमेसिन सावित्रा भण्डारी गृह जिल्लामा सम्मानित

खबरकुञ्ज

बेसीशहर, साउन ८ । नेपालका लागि सर्वाधिक अन्तराष्ट्रिय खेल खेलेर सर्वाधिक गोल गर्ने खेलाडी बनेकी, गोल मेसिनको उपनामसमेत पाएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी“साम्बा” आफ्नो गृह जिल्लामा सम्मानित भएकी छन् ।

लमजुङको मस्र्याङदी गाउँपालिकाले बिहीबार साम्बाको सम्मान गरेको हो । मस्र्याङदी गाउँपालिकाको वडा नं. ९ सिम्पानीमा जन्मेर नेपाली महिला फुटबलमार्फत अन्तराष्ट्रिय स्तरमै ख्याती कमाएकी साम्बालाई मस्र्याङ्दी गाउँपालिकाले बिहीबार एक भब्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।


उनलाई मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले माला लगाएर दोसल्ला आढाएर सम्मानपत्र दिएर सम्मान गरे ।

मस्र्याङ्दी गाउँपालिका–९, पामचोकको सामान्य परिवारमा जन्मिएर फुटबल खेलमार्फत राष्ट्रलाई विश्वसामु चिनाएर पालिकाकै गौरव बनेकी सावित्रालाई सम्मान गर्न पाउँदा आफू पनि गौरवान्वित भएको सो अवसरमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । नेपाल र नेपाली फुटबललाई धेरै कुरा दिएकी सावित्राबाट अझै देशले धेरै अपेक्षा गरेको भन्दै अध्यक्ष गुरुङले उनको योगदान, संघर्ष र सफलताबाट पालिकाका बालबालिकाले समेत धेरै कुरा सिक्न सक्ने भएकाले गाउँपालिकाभित्र रहेका अण्डर १९ खेलाडी र विद्यार्थीसंग अन्तरक्रिया गराइएको थियो ।


अन्तरक्रियामा सावित्राले आफूले गाउँका गराहरुमा मोजाको भकुण्डो खेलेर फुटबल सिकेको भन्दै विस्तारै फुटबलमा लगाब बढ्दै जाँदा विद्यालय, गाउँटोल, जिल्ला हुँदै राष्ट्रिय टोलीमा प्रवेश गरेको विगत सुनाईन् । पढाइमा भन्दा खेलमा बढी रुचि हुँदा गाउँ घरमा यो खेलेर विग्रन्छे सम्म भनिने गरे पनि फुटबल प्रतिको लगाव, केही गरौं भन्ने सोच र निरन्तरको अभ्यासले आफू अहिलेको ठाउँमा पुगेको उनले बताइन् । उनले लक्ष्य राखेर लक्ष्य हासिल गर्न निरन्तर कोशिस गर्न सके सफलता प्राप्त हुने आफ्नो अनुभव सनाउँदै आफूलाई सम्मान गरेकामा गाउँपालिका प्रति कृतज्ञता जनाइन् । उनले गाउँपालिका अध्यक्ष गुरूङलाई आफ्नो नामको जर्सी समेत उपहार दिइन् ।

आजै सावित्राले आफ्नो सम्मानमा गाउँपालिकाले निर्माण गरेको साम्बाचोक र त्यहाँ राखिएको फुटबल खेल्दै गरेको स्तम्भमा सुभेच्छुकहरुसंग फोटोसमेत खिचाइन् ।


सावित्रा अहिले नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान हुन् । उनले नेपालका लागि सर्वाधिक ६६ वटा अन्तराष्ट्रिय गोल गरेकी छन् । सशस्त्र प्रहरीको एपिएफ क्लव हुँदै राष्ट्रिय टोलीमा प्रवेश गरेकी सावित्रा भारत, मालदिभ्स, इजराल र फ्रान्सका प्रतिष्ठित क्लवबाटसमेत ब्यवसायीक खेल खेलिसकेकी छन् । हाल उनी न्युजिल्याण्डको वेलिङटन फोनिक्स क्लवसंग आवद्ध भई अस्ट्रेलियाको निन्जा ए लिगमा खेल्न अनुबन्धित भएकी छन् । 



प्रतिक्रिया