बेसीशहर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले शनिबार बेसीशहरकाे मनाङे चाैतारमा सरसफाइ गरेका छन् ।
रास्वपा बेँसीशहर नगर कमिटी अन्तर्गत वडा नं ७ ले सामजिक कार्यलाई अभियान बनाउने क्रममा सरसफाइ अभियान सञ्चालन गरेकाे हाे । यसअघि बेसीशहरकाे ८ नंं वडा कमिटीले वडाभित्र सरसफाइ अभियान सञ्चालन गरेकाेमा यसपटक वडा नंं ७ ले पनि अभियानकाे शुरूवात गरेकाे छ ।
७ नंं वडा कमिटीका सभापति राजकुमार घिमिरेकाे नेतृत्वमा रास्वपाका सदस्यहरूले बेसीशहरकाे वडा नंं ७ मा पर्ने मनाङे चाैतार र त्यहाँबाट सातबिसे निस्कने बाटाेकाे सरसफाइ गरेका हुन् ।

रास्वपाका सदस्यहरूले शहरीकरणसंगै बिरानाे बन्दै गएकाे मनाङे चाैतारामा जथाभावी फालिएका फाेहर संकलन गर्नुका साथै चाैतारमा लागेकाे लेउ झ्याउ फालेर सफाइ गरेका हुन् । यसबाहेक मनाङे चाैतारबाट सातबिसे तथा चनाैटे निस्कने पुरानाे घाेडेटाे बाटाे पनि सरसफइ गरेका छन् ।
पुरानाे सिँढी लगाइएकाे घाेडेटाे बाटाेकाे सिँढी फालेर सिमेण्टड बनाइए पनि सिमेण्टेड बाटाे धेरै प्रयाेगमा नहुँदा लेउ झ्याउ लागेर बाटाे हिँड्नै मुस्किल थियाे । बाटाेमा लेउ लागेर हिँड्नै नमिल्ने भएपछि तारब्रुस प्रयाेग गरी लेउ र झ्याउ सफा गरिएकाे थियाे । जाे काेही पनि उक्त बाटाे हिँड्दा चिप्लेर लड्ने गरेकाे देखेर सरसफाइ गरिएकाे रास्वपा बेसीशहर ७ नं. वडाका सभापति राजकुमार घिमिरेले बताए ।

रास्वपा ७ नं. वडा कमिटीले अब प्रत्येक शनिबार तथा बिदाका दिनहरुमा वडाका जनतासंग छलफल गरी जनतासंग प्रत्यक्ष सम्बन्धित समस्याहरु न्युनिकरण गर्दै सामाजिक कामहरुलाई स्थानीयबासीकै सल्लाहमा निरन्तरता दिने भएकाे छ ।
सरसफाइ अभियानमा बेसीशहर नगर कमिटीका सभापति कृष्णबहादुर राउत, ८ नं. वडा कमिटीका सभापति ध्रुब ढकाल, ७ नं. वडा कमिटीका उपसभापति बिष्णु घिमिरे लगायत रास्वपाका सदस्यहरू सहभागी थिए ।