गैर आवासीय नेपालीलाइ नागरिकता लिन आउन जिल्ला प्रशासन लमजुङकाे अनुराेध

बेसीशहर । गैर आवासीय नेपालीहरूका लागि जिल्ला प्रशासन कार्यालय लमजुङले पनि गैरआवासीय नागरिकता दिने भएकाे छ। कार्यालयले एक सूचना जारी गर्दै नागरिकता लिन इच्छुक गैर आवासीय नेपालीलाइ आवश्यक कागजपत्रसहित कार्यालयमा सम्पर्क गर्न अनुराेध गरेकाे छ ।

गैर आवासीय नेपालीलाइ नागरिकता  दिन नागरिकता सूचना ब्यवस्थापन प्रणाली(सिआइएमएस) अद्यावधिक गर्ने कार्य सकिएकाले नागरिकता लिन इच्छुक गैर आवासीय नेपालीलाइ कागजपत्रसहित कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रशासनले सूचना जारी गरेकाे हाे ।

नागरिकताका लागि नागरिकता लिन चाहने व्यक्तिका बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको प्रमाण, पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको प्रमाण, विदेशी मुलुकको नागरिकता लिएको प्रमाण, दक्षिण एसियाली बाहेकका मुलुकमा बसोबास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र र हाल बसाेबास गरिरहेकाे मुलुकबाट जारी भएकाे राहदानी वा साेकाे प्रमाणित प्रतिलिपी अावश्यक पर्ने कार्यालयद्वारा जारी सूचनामा भनिएकाे छ । 


गैर आवासीय नागरिकता लिन चाहनेले माथि भनिएका पाँच वटा प्रमाणका साथ रू १० काे टिकटसहित निवेदन दिनुपर्ने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार उपर्युक्त कागजातसहित कार्यालयमा बुझाएपछि कार्यालयले अाबश्यक छानबीन गरी नागरिकता उपलब्ध गराउने छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नागरिकता पाउने बाटाे खुलेकाे थियाे । अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्।  

झुटा विवरण बुझाइ गैर आवासीय नागरिकता लिने व्यक्तिलाई तीन महिनादेखि एक वर्षसम्म कैद र २५ हजारदेखि ५० हजार रुपैयाँ जरिवाना हुने ब्यवस्था समेत छ । यस्ताे नागरिकता पाउने गैर आवासीय नागरिकताले मतदान गर्न, चुनाव लड्न, पासपोर्ट बनाउन भने पाउने छैनन्। तर उनीहरूले सम्पत्ति राख्न, व्यापार-व्यवसायमा लगानी गर्न पाउने बताइएकाे छ । 

प्रतिक्रिया