एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालकाे ह्याट्रिक

काठमाडौं । नेपाल तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । नेपालले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गरेकाे हाे । नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियाे ।

आज मलेसियामा भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले ह्याट्रिक पुरा गरेकाे हाे । फाइनलमा नेपाली खेलाडीहरूले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । 

टस जितेर पहिले ब्याटिङमा उत्रेकाे नेपाली टीमका लागि नरेन भट्टले सतक बनाए । निर्धारित ३५ ओभरकाे खेलमा नरेनकाे शतक मद्दतमा नेपालले ८ विकेटको क्षतिमा २५२ रन बनाउन सफल भयाे ।

नेपालका लागि नरेन भट्ट एक्लैले अबिजित रही ८९ बलमा १० चौका र दुई छक्कासहित ११२ रनको योगदान दिए । 


नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६,  सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५,  क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए ।  २६ रन नेपालले अतिरिक्त पायो ।

जवाफी ब्याटिङका लागि २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ‌ओभरमा मात्र ३१ रन बनाएर अल आउट भयो  । मलेसियाका मोहमद अक्रमले मात्र १० रन बनाउन सके । उनी बाहेक अरु ब्याट्मेनले दोहोर स्कोरनै बनाउन सकेनन् भने ५ जना ब्याटरले त खाता नै खेल्न सकेनन् ।


नेपालका लागि अभिषेक तिवारीले ५ र सन्तोष यादवले ३ विकेट लिए । 

मलेसियाका लागि मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया