बेसीशहर, पुस १६ । लमजुङ सदरमुकाम बेसीशहरमा जारी त्रिवेणी कप फुटबलकाे ३१ औं श्रृंखला अन्तर्गत साेमबार भएकाे पहिलाे खेलमा विभागीय टीम नेपाल प्रहरीकाे महेन्द्र पुलिस क्लवले चामे युवा समाज मनाङ बिरूद्ध २–० काे जीत निकालेकाे छ ।
अत्यन्त प्रतिस्पर्धात्मक रहेकाे खेलकाे पहिलाे हापमा दुवै पक्षले गाेल गर्ने प्रयास गरे पनि कुनैले पनि गाेल गर्न सकेनन् । तर दाेस्राे हापकाे ५१ औं सेकेण्डमा पुलिसका जर्सी नंं ८ का खेलाडी प्रताप गुरूङले सेन्टरलाइनबाट गरेकाे प्रहार गाेलपाेष्ट नजिकै पुग्दा चामे युवा समाजका रक्षापंक्तिका खेलाडी जर्सी नंं ५ आइकिङ बुफाेले बल समात्न अघि बढिसकेका गाेलकिपरलाइ मिसपास गर्न पुग्दा आत्मघाती गाेल हुन पुगेकाे थियाे ।
प्रहरीका लागि दाेस्राे गाेल प्रविन थापाले दाेस्राे हापकाे ३३ औं मिनेटमा गरे । त्यसपछि निराश बनेकाे चामेले खेललाइ फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।
नेपाल प्रहरी पहिलाे पटक त्रिवेणीकप फुटबलमा सहभागी भएकाे हाे ।
याे जीतसंगै विभागीय टीम नेपाल प्रहरी क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । पुलिसले क्वार्टर फाइनलमा लाङ्दीदेवी नाल्मा र ठडराइ अधिकारी समाजबीचकाे खेलमा जाे विजयी हुन्छ, उसैसंग खेल्नेछ ।