सुन्दरबजार, पुस १ गते । लमजुङको सुन्दरबजारमा रहेको हाटबजारमा कृषि उपज विक्रीका लागि आउने किसानहरुलाई लक्षित गरी सुन्दरबजार नगरपालिका वडा नं ७ ले ७५ जना किसानलाई विभिन्न तरकारीको बीउ बितरण गरेको छ ।
सुन्दरबजारको वडा नं. ७ मा केही महिनादेखि शुरु भएको हाटबजारमा कृषि उपज विक्री गर्दै आएका किसानहरुलाई लक्षित गरी वडा कार्यालयले बीउ वितरण गरेको हो । शनिबार हाटबजारस्थलमा आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष जयराम रेग्मीले किसानहरुलाई काक्रो, लौका, तने बोडी, करेला, घिरौला ,टुकिनास मूला, धनिया ,मार्फा रायो साग, गाजर, केराउ आदिका बीउ बितरण गरेका हुन् ।
वडा अध्यक्ष रेग्मीले कृषि हाटबजारको प्रबद्र्धन र ब्यबस्थापनका लागि वडा कार्यालय क्रियाशील रहेको बताउदै कृषि हाटबजारले सुन्दर बजारलाई समृद्ध बनाउन सहयोग पुगेको र यसबाट किसानहरुको आयआर्जनमा समेत टेवा पुगेकोले किसानलाई थप कृषि उत्पादनमा उत्प्रेरित गर्न किसानहरुको आवश्यकता बुझेर बीउ वितरण गरिएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड काठमाडौका एजिएम दिपेन्द्र कडारियाले सुन्दरबजारको कृषि हाटबजारले यस क्षेत्रको आर्थिक बिकासमा महत्वपूर्ण टेवा पुगेको बताउदै हाटबजारको बिकास र बिस्तारमा आफू र सम्बद्ध संस्थाले पनि सहयोग गर्ने आश्वासन दिए ।
सो अवसरमा सुन्दर बजार नगरपालिका वडा नम्बर ६ का व्यावसायिक किसान रामचन्द्र नेउपाने, वडा नम्बर १० कोइरालाफाँटका किसान तीर्थ राज मिश्र, सुन्दर बजार ४ का किसान मदन खनिया लगायतका किसानहरुले कृषि हाटबजार स्थापना पश्चात आफ्ना उत्पादित कृषि बस्तु सहज रुपमा बिक्री भएको र यसका लागि भूमिका खेल्ने वडा नंं ७ कार्यालयलाई धन्यवाद दिए ।
सो अवसरमा उनीहरुले टाढा टाढाबाट कृषि उपज बिक्रीका लागि ल्याउँदा ढुवानी खर्च बढी परेकाले कृषि एम्बुलेन्सको ब्यबस्था गर्न माग गरेका थिए ।
उनीहरुले किसानका लागि कृषि बिमाको ब्यवस्था मिलाउन पनि माग गरेका थिए ।
कार्यक्रममा ग्रामीण तालिम केन्द्र लमजुङका योजना प्रमुख अच्युत रेग्मीले हाटबजारमा आउने किसानलाई सुन्दर बजार नगरपालिका वडा नम्बर ७ को समन्वयमा ३ महिने बेमौसमी तरकारी खेती तालिमे उपलब्ध गराउन लागिएको जानकारी गराएका थिए ।
सुन्दरबजारको एभरेष्ट साकोसको समन्वयमा संचालित सुन्दर बजारको कृषि हाटबजार गएको भदौ १५ गते शनिबार बाट हप्ताको २ दिन शनिबार र बुधबार संचालन हुँदै आएको हाटबजार ब्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
कृषि हाटबजार सन्चालनका लागि एभरेस्ट साकोससंगै सुन्दरबजार नगरपालिका, कृषि बिकास शाखा सुन्दर बजार नगरपालिका, सुन्दरबजार वडा नम्बर ७, आरसिडिसी लमजुङ, वर्ड भिजन, कृषि ज्ञान केन्द्र लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लमजुङ, लमजुङ कृषि क्याम्पस लगायतका निकायको महत्वपूर्ण भुमिका छ ।
हाट बजारमा खोले साग, सालको पात, अमला, सिस्नोको पात र धुलो, कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, अकबरे खुर्सानी बरेला, लप्सी, केरा, केराउ, कुभिण्डो, दुना टपरी, मह, घ्यु, तरुल, पिँडालु, भ्याकुर, करेला, अनादीको चामल, गिठ्ठा, लप्सी, मेवा, सुन्तला, भुईकटहर, गोलभेडा, स्कुस धनिया साग, घिरौला, भिँडी , जेठोबूढो चामल, चम्सुर र पालुङ्गोको साग, काक्रो, तोरीको तेल, सखर खण्ड, कागती, निबुवा, मासको दाल, सिमी, बोडी, भट्टमास आदि कृषि उपज अत्यधिक बिक्र िहुने गरेको एभरेष्ट साकोसका प्रबन्धक ज्ञान बहादुर नेपालीले जानकारी दिए ।