तोकिए भन्दा बढी भाडा लिने सवारी साधन कारबाहीमा

खबरकुञ्ज

बेसीशहर, कार्तिक २२ गते । लमजुङ बाट छुट्ने तथा भित्रिने लामा दुरीका साना तथा ठुला सवारी साधनहरुले यात्रुहरुसँग मनलाग्दी भाडा असुल्ने गरेको गुनासो ब्यापक रुपमा बढिरहेको बेला त्यसरी तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारी साधनहरु कारबाहीमा पर्न थालेका छन् ।

यात्रुसंग निर्धारित भाडा दर भन्दा बढी भाडा लिएको भनि परेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङले बढी भाडा लिने सवारी साधनहरुलाई कार्वाही गर्ने अभियान सञ्चालन गरेको हो । 

यो अभियान अन्तर्गत बढी भाडा लिने बेसीशहर देखि नारायाणगढ चल्ने ग १ ख ७२७१ नं को बसलाई कानुन बमोजिम रु ५००।– जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

बढी भाडा लिएको गुनासो बढेपछि प्रहरीले सवारी चालक तथा सहचालक साथै यात्रुहरुलाई सम्झाई बुझाई गरि सचेत गराउने गरेकोमा सो कार्य निरन्तर भइरहेको पाइएकाले त्यस्ता सवारीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ कोे दफा १६४ को उपदफा (१) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

उनका अनुसार यातायात ब्यवस्था ऐनको दफा १६४ को उपदफा (१) अनुसार पहिलो पटकलाई रु ५००।– ,दोस्रो पटक रु १०००।– र तेस्रो पटक वा सो भन्दा बढी पटक  लापरवाही गर्ने सवारी साधनलाई रु १५००।– जरिवाना गर्न सकिने व्यवस्था छ ।

प्रहरीले तोकिएको निर्धारित भाडा दर भन्दा बढी भाडा लिने सवारी साधनहरुलाई  कानुन बमोजिम कारबाही गर्ने अभियानलाई निरन्तरता दिने बताएको छ ।


प्रतिक्रिया