बेसीशहर, असार ८ गते । स्थानीय निर्वाचनकाे झल्काे दिने गरी बेसीशहर खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे नयाँ समितिका लागि निर्वाचन सम्पन्न भएकाे छ ।
शुक्रबार बेसीशहरमा शुरू भएकाे पाँचाै अधिवेशन अन्तर्गत नयाँ समितिकाे चयनका लागि शनिबार भएकाे निर्वाचनमा सहभागी मतदाता, प्यानलसहितकाे प्रचार प्रसार र निर्वाचनकाे माहाेलले स्थानीय निर्वाचनकाे झल्काे दिएकाे हाे ।
शनिबार भएकाे निर्वाचनमा ५६ प्रतिशत मात्र मतदान भएकाे छ । उपभाेक्ता समितिमा कूल ३१९७ सदस्य रहेकामा १८०१ मत खसेकाे हाे ।

उपभाेक्ता समितिकाे नयाँ कार्य समितिका लागि तीनवटा प्यानल सहभागी थिए । नेपाली कांग्रेस र राप्रपा सम्मिलित गठबन्धन, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्मिलित अर्काे गठबन्धनका अलवा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र युवाहरू सम्मिलित अर्काे प्यानलबीच प्रतिस्पर्धा भएकाे हाे । याे प्रतिस्पर्धामा कुन प्यानल खराे उत्रने हाे याे थाह पाउन भाेलिसम्म कुर्नु पर्ने छ । निर्वाचन सम्पन्न भए पनि मतगणना भने भाेलि बिहानबाट शुरू गर्ने सहमति भएकाे समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए ।
खानेपानीकाे निर्वाचनमा शनिबार मतदान हुँदै गर्दा तीनवटै प्यानलबीच कडा प्रतिस्पर्धा देखिएकाे छ । तीनवटा प्यानल निर्वाचनमा हाेमिएकामा कुनै पनि प्यानल एकल रूपमा बिजयी हुने छाँटकाट देखिएकाे छैन । मतदानमा सहभागी कतिपय उपभाेक्ताहरूले सबै प्यानलका उमेदवारलाइ छानी छानी मत दिएकाे बताएका छन् । जसका कारण कुनै एक प्यानल सिंगै बिजयी हुने अवस्था देखिएकाे छैन ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा हालको समितिका उपाध्यक्ष लोकेन्द्र गुरुङ अध्यक्षको प्रत्यासी छन् । उपाध्यक्षमा आश कुमारी गुरुङ, सचिवमा चन्द्रकान्त पौेल, कोषाध्यक्षमा भगवान पिया, महिला सदस्यमा अतिरुपा सेढाईँ र अपना खनाल,दलित सदस्यमा गणेश कामी, खुला सदस्यमा टिकाराम वाग्ले, लोठ बहादुर गुरुङ, नरहरि पौडेल र अजित बहादुर अधिकारी प्रत्यासी छन् ।
त्यस्तै नेकपा एमालेकाे गठबन्धनमा अध्यक्षमा रामबहादुर गुरुङ उमेदवार छन् । याे प्यानलबाट उपाध्यक्ष श्रद्धा पौडेल, सचिवमा शम्भुलाल श्रेष्ठ, कोषाध्यक्षमा नन्दलाल श्रेष्ठ, खुला सदस्इमा विनोद तामाङ, शान्ति बहादुर बस्नेत, भिमसेन अधिकारी, राजन पौडेल, महिला सदस्यमा युक्मी गुरुङ, सविना रिमाल र दलित सदस्यमा गोपाल परियार उमेदवार छन् ।

यता स्वतन्त्र समूहबाट विष्णु घिमिरे अध्यक्ष, सविता अधिकारी बराल उपाध्यक्ष, श्याम अर्याल सचिव, मीना खड्का कोषाध्यक्ष र खुला सदस्यमा दिपेश श्रेष्ठ (दिपु), भक्तबहादुर अधिकारी, विष्णु सुयल, अहलदिन मिया, महिला सदस्यमा भीममाया तामाङ गुरुङ र रत्नकुमारी गुरुङ तथा दलित सदस्यमा केशब दुलाल उमेदवार छन् ।
तीनवटै प्यानलकाे प्रतिस्पर्धामा सबै प्यानलले जित्ने दावी गरिरहेका छन् । लगातार बिजय हासिल गर्दै गरेकाे नेपाली कांग्रेस नेतृत्वकाे प्यानल चुनाव जित्नेमा ढुक्क देखिन्छ । उता एमाले नेतृत्वकाे गठबन्धन पनि निर्वाचन जित्ने दावी गर्छ ।
कांग्रेस र एमालेले खानेपानीमा मनाेमानी गरेकाे भन्दै खानेपानीकाे सुधारका लागि उत्रिएकाे स्वतन्त्र समूहकाे गठबन्धनले पनि जित्ने दावी गरिरहेकाे छ । तर जानकारहरू भने तीनवटै प्यानल सम्मिलित मिश्रित नतिजा आएमा आश्चर्य नमाने हुन्छ भनिरहेका छन् ।
जसले जे भने पनि अब नतिजा कुर्न भने आइतबार अपरान्हसम्म कुर्नै पर्ने देखिन्छ ।
यसैबीच विदा हुन लागेकाे बहालवाला समितिका अध्यक्ष कृष्ण कुमार प्रधानले आफ्नाे कार्यकालमा सहयाेग गर्ने सबैलाइ धन्यवाद दिएका छन् । बिबिध कारणले कार्यकाल लामाे रहे पनि बेसीशहर खानेपानीकाे सुधारका लागि आफ्नाे टीमले गरेकाे प्रयासलाइ बेसीशहरबासीले धेरै समयसम्म सम्झिरहने विश्वास उनले ब्यक्त गरे ।
उनले बेसीशहरबासीलाइ पर्यप्त खानेपानी उपलब्ध गराउन भाचेक खाेला खानेपानी याेजना आफ्नै कार्यकालमा शुरू गरी सम्पन्न समेत गर्न सक्नु नै मुख्य उपलब्धी भएकाे र त्यसमा आफूलाइ सन्ताेष लागेकाे बिचार ब्यक्त गरे । उनले नयाँ बन्ने समितिले बेसीशहरकाे खानेपानीकाे थप सुधार गरी उपभाेक्ताकाे हितमा काम गर्न अनुराेध समेत गरेका छन् ।
मिलन शर्मा दनाई