प्रकृति र संस्कृतिकाे धनी घलेगाउँमा खेल पर्यटन, बैशाख १ देखि सातौँ आमन्त्रित गोल्ड कप फुटबल हुने

खबरकुञ्ज

बेसीशहर, चैत १० । लमजुङको प्रमुख पर्यटकीय स्थलको रुपमा विकसित भएको स्मार्ट भिलेज घलेगाउँमा यही आउँदो बैशाख १ गतेदेखि शुरु हुने स्मार्ट भिलेज आमन्त्रित सातौँ गोल्ड कप फुटबल प्रतियोगितामा १२ टीम सहभागी हुने भएका छन् ।

लमजुङको दोस्रो ठूलो पुरस्कार राशी रहेको यो प्रतियोगितामा लमजुङका ४ र लमजुङबाहिरका ८ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा हालै सम्पन्न जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगिता जितेको लमजुङ भुजुङको लालीगुराँस युवा क्लवसहित बेसीशहरको त्रिवेणी युवा क्लब, बेंसीशहर युथ सोसाइटी र बुद्ध युथ क्लव भोटेओडारले सहभागिता जनाउने छन् ।

जिल्ला बाहिरका टीममा भुइँखेल फुटबल क्लब काठमाडौं, अभिशेष चर्च रजहर नवलपुर, सुर्यतारा क्लब पोखरा, नेपाल युनाइटेड तनहुँ, पिप्ले युवा क्लब हेटौडा, गोरखा ब्वाइज बुटवल क्लब, रामपुर रड्स चितवन, देवदह नगरपालिका रूपन्देही र भरतपुर फुटबल क्लब चितवनले प्रतियोगितामा सहभागिता जनाउने आयोजक पर्यटन ब्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेम बहादुर घलेले जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी दिन बेसीशहरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष घलेले प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्थापन गरिएको जानकारी दिए । घलेगाउँको स्वर्गभूमि रंगशालामा हुने प्रतियोगिता ६ दिन सञ्चालन हुने र विजेता र उपविजेताले क्रमशः नगद ५ लाख ५० हजार ५५५ र ३ लाख ५० हजार ३५५, कप, पदक र प्रमाणपत्र पाउने छन् ।

यसबाहेक सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०-१० हजार रुपैयाँ र पदक र प्रमाणपत्र दिइने छ । हरेक खेलमा म्यान अफ दि म्याच ट्रफी प्रदान गरिने घलेले जानकारी दिए ।

यो प्रतियोगिता नेपालकै उच्च स्थलमा हुने प्रतियोगिता हो । प्रतियोगितास्थल समुद्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा रहेको घलेले बताए ।

उसाे त घलेगाउँ प्राकृतिक रूपमा मनाेरम छ । संस्कृतिकाे उस्तै धनी छ । त्यहाँकाे प्राकृतिक सुन्दरता र कला संस्कृतिमा रमाउन बर्षेनी हजाराैं पर्यटक घलेगाउ घलेगाउँमा पुग्छन् । प्रकृति र संस्कृति बाहेक फुटबल खेलको माध्यमबाट थप पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता गर्न लागिएकाे अध्यक्ष घलेले जानकारी दिए ।

प्रतिक्रिया