बेसीशहर, माघ ५ । लमजुङमा बिक्री गर्नका लागि भारतबाट अबैध रुपमा ल्याइएका ४ सय ब्रोइलर कुखुरा नबलपरासी प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सेमरी नवलपरासीको टोलीले ग २ च ९०१३ नम्बरको पिकअप भ्यानमा राखेर लमजुङ ल्याउँदै गरेको अवस्थामा १० क्वीण्ट जिउँदो ब्रोइलर कुखृुरा बरामद गरेको हो । बरामद कुखुरा ३ लाख बराबरको रहेको बताइएको छ ।
प्रहरीका अनुसार बर्दघाट नगरपालिका-१४ गंगाबस्तीमा रहेको ‘दाउन्ने फ्रेस हाउस एण्ड सप्लायर्स’ले ती कुखुरा लमजुङ पठाउनका लागि भिसिटीसी अनलाइन बिल काटेको भेटिएको. छ । तर भिसिटीसीका आधारमा कुखुरा फर्मकै हो भन्ने सप्लायर्सले पुष्टी गर्न नसकेपछि बरामद गरिएको नवलपरासी प्रहरीले बताएको छ । प्रहरीले ती कुखुरा अवैधरुपमा भारतबाट ल्याएको आशंका छ ।
प्रहरीले भिसिटीसी बील सक्कली भेटिए पनि कुखुरा ओसारपसारका लागि क्वारेण्टाइन प्रमाणपत्र नक्कली बनाइएको भेटिएको प्रहरीले बतायो । पशुपक्षी तथा चौपाय एक जिल्लाबाट अर्को जिल्लामा पठाउँदा पशुपंक्षीको स्वास्थ्य प्रमाण पत्र पर्ने र सो सप्लायर्सले बनाएको स्वास्थ्य प्रमाण पत्रमा हस्ताक्षर गर्ने चिकित्सकको नाम काउन्सिलमै नरहेको भेटिएपछि कुखुरा अबैध तरिकाले ल्याइएको खुलेको थियो ।
बरामद भएका कुखुरालाई खाल्डो खनेर बुधबार नष्ट गरिएको र नक्कली प्रमाण पत्र बनाउने सप्लायर्सका सञ्चालक तीलकराम चौधरी, कुखुरा बोक्ने सवारी साधन र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
लमजुङको बजारमा पटक पटक अबैध रुपमा यसरी नै अण्डा ब्रोइलर कुखुरा भित्र्याइने गरेको कुखुरा ब्यवसायी बेदराज खनियाले बताए । बोरामा कोचेर ल्याइएको मासु बेसीशहर लगायतका बजारमा खुलेआम विक्री हुने गरेको उनको भनाइ छ । यसरी अबैध रुपमा भित्र्याइएका अस्वस्थ कुखुराको विक्री वितरणले लमजुङका उपभोक्ता अस्वस्थ मासु खान बाध्य हुनुपरेको छ । यसरी अबैध तरिकाले कुखुराको मासु भित्राउने क्रमले जिल्लाका कुखुरापालक किसान र पोल्ट्री ब्यवसाय नै संकटमा परेको अवस्थामा मासु ब्यवसायी समिति र सरोकारवाला निकायले केही गर्न नसकेको खनियाले बताए ।