बेसीशहर, चैत १३ गते । लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ३ सुर्यपालमा लागू औषध अफिमकाे खेती गर्ने एकजना पक्राउ परेका छन् ।
उक्त स्थानमा अफिमको खेती गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा अफिमका बोट र अफिमको चोप सहित बर्ष २६ का हिमाल लामा थिङलाई गत चैत ११ गते पक्राउ गरेको हो ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ०८ घर भई विगत १ बर्षदेखी लमजुङको सुर्यपालस्थित विष्णु सुवेदीको खेतवारी रेखदेख गरी बस्दै आएका थिङले सुवेदीकै ३ रोपनी क्षेत्रफलको खेतमा अफिमको खेती गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले त्यहाँबाट १४ हजार ५ सय ६६ वटा अफिमका बोट, संकलन गरिएको १०७.४ ग्राम अफिम र अफिम संकलनमा प्रयोग भएका चक्कु र कचौरासमेत बरामद गरेको छ । उनलाई लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाइँले जानकारी दिए ।
खबरकुञ्ज