बेसीशहर । लमजुङको कालिका सहकारीले ठगी प्रकरणमा मुख्य दोषी भनिएका मृगेन्द्र घिमिरेलाई उन्मुक्ति दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे हात धोएर लागेको खुलासा भएको छ ।
उक्त सहकारीको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले गरेको छानविनमा मुख्य दोषी देखाइएको मृगेन्द्र घिमिरे र उनकी पत्नी बिनिता अधिकारी घिमिरे पछिल्लो पटक सिआइबीको अनुसन्धानमा समेत दोषी देखिएका छन् । ठगीको आरोपमा पक्राउ परेको सहकारीका पदाधिकारी र सदस्य तथा व्यवस्थापकले समेत घिमिरे दम्पतिको प्रतिकूल हुनेगरी वयान दिएपछि उनीहरुलाई जोगाउन मुख्यमन्त्री पाण्डेल भूमिका खेलेका हुन् ।
यसका लागि मुख्यमन्त्री पाण्डेले लमजुङका प्रहरी प्रमुख डिएसपी मिन बहादुर घलेलाई घिमिरे दम्पतिलाई जोगाउन ठाडो निर्देशन मात्र दिएनन्, उनीहरुलाई पक्राउ नगरी अन्य पदाधिकारीहरुलाई मात्र पक्राउ गर्न निर्देशन दिएका थिए । पाण्डेकै निर्देशनमा प्रहरीले घिमिरे दम्पतीलाई फरार हुन सहयोग गरेको श्रोतले बतायो । प्रहरीले उक्त प्रकरणमा ७ जनालाई पक्राउ गरेपनि घिमिरे दम्पती भने अझै फरार छन् ।
पछिल्लो समय मुख्यमन्त्री पाण्डेले सहकारी राजिष्ट्रारको कर्मचारीलाई समेत घिमिरे दम्पतीको मुद्धा कमजोर बनाउन दबाब दिएको रहस्य खुलेको छ । गत बुधबार मुख्यमन्त्री पाण्डेले सहकारी रजिष्ट्रारको कार्यालयका कर्मचारीलाई आफ्नै कार्यालयमा बोलाएर सहकारीको मुद्धाबारे चासो राख्दै मृगेन्द्र घिमिरे दम्पतीको संलग्नताबारे जानकारी लिएका मुख्यमन्त्री कार्यालय श्रोतले जानकारी दियो ।
रजिष्ट्रार कार्यालयको छानवीन प्रतिवेदनले घिमिरे दम्पतीले सहकरीलाई एकीकरण पूर्व परिवारिक रुपमा संचालन गरेको देखिएको छ । सहकारी एकीकरण पूर्व अध्यक्षमा मृगेन्द्र घिमिरे प्रवन्धकमा उनकी श्रीमति विनिता घिमिरे र संचालकहरुमा अर्की दिदी लक्ष्मिा खनाल, दाजु आनन्दराज घिमिरे भाउजु रमा देवी शर्मा मिलेर कालिका सहकारी संचालन गरेका थिए । कालिका सहकारी ठगी प्रकरणमा प्रहरीले ३४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यी मध्ये ७ जनालाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । बाँकी २७ जना आरोपी फरार छन् । पक्राउ परेका सवैले आफूहरु निर्दोष रहेको प्रहरीलाई वयान दिएका छन् ।