विवाद मिलाएर पार्टीलाई एक ढिक्का बनाउन नेता गुरूङकाे आग्रह

खबरकुञ्ज

लमजुङ, असार ३१ । नेपाली कांग्रेस लमजुङका नेता गमप्रसाद गुरुङले पार्टी र भातृसंगठन भित्रका विवाद मिलाएर पार्टीलाई एक ढिक्का बनाउन जिल्ला पार्टी सभापतिले चासो नराखेको गुनासो गरेका छन् ।

गएको जिल्ला अधिवेशनमा जिल्ला कार्य समितिको सभापतिका प्रत्यासीसमेत रहेका गुरुङले गत जेठ ३ गते नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनका क्रममा भएको विवादले पार्टीको गतिविधि खासै प्रभावकारी हुन नसकेको भन्दै विवाद मिलाउन पार्टीका नेताहरुको संयुक्त वैठक बोलाउन आाफूले सभापतिसंग पटक पटक आग्रह गर्दै आए पनि सभापति डा टकराज गुरुङले वेवास्ता गरेको गुनासो गरेका हुन् ।


नेता गुरुङले तरुण दल लमजुङ भित्रको आपसी मतभेदलाई कम गर्ने र आपसी सदभावना, सहमति र सहाकार्य गर्ने वातावरण निर्माण गर्न जिल्ला स्थित नेताहरुको बैठक बोलाउन उपयुक्त हुने भन्दै जिल्ला कार्य समितिका सभापतिसंग माग गर्दै आएका छन् । 

पार्टीभित्रको आन्तरिक एकता कमजोर भए पार्टीको संगठन ध्वस्त हुने र जिल्लामा पार्टीको विरासत कमजोर हुने भन्दै उनले नेपाली कांग्रेसभित्रको बिबाद जिल्ला भित्रै मिलाउन सकिन्छ भने सन्देश दिनुपर्ने बताउँदै आएका छन् ।

नेता गुरुङले पछिल्लो पटक मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका पूर्व केन्द्रिय सदस्य एबम नेता दिल बहादुर घर्ती, पुर्व सभापति रामचन्द्र अधिकारी, पुर्व राज्यमन्त्री राम बहादुर गुरुङ, पुर्व सभापतिहरु शंकर कान्त जोशी, चन्द्र बहादुर कुँवर, तुलसी नारायण श्रेष्ठ, कृष्ण प्रसाद कोइराला, भेष बहादुर पौडेल, पार्टीका नेताहरु गोबिन्द धिताल, डिकेन्द्रराज कडेल, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सहमहामन्त्री रमेश पाण्डे  सहित जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुको तत्काल चरणबद्ध बैठक बोलाउन र समस्याको समाधान निकाल्न पुनः जिल्ला सभापति समक्ष आग्रह गरेका हुन् । 

उनले भाइ फुटे गवार लुटे भन्ने उखानको मनन गर्न पार्टी सभापतिलाई आग्रह गर्दै यस सत्कार्यमा साथ र सहयोगको लागि संबंधित सरोकारवाला र शुभचिन्तकहरुसंग अपील पनि गरेका छन् ।


प्रतिक्रिया