तरूण दल लमजुङकाे अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते, दाेषीलाइ उन्मुक्ति

खबरकुञ्ज

बेसीशहर, जेठ ३ गते । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनमा तरुण युवाहरुबीच खुकुरी हानाहान भएको छ ।

अधिवेशन चलिरहँदा फर्जी सदस्य बनाएर नेतृत्व हत्याउने प्रयास भएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि संस्थापन पक्षका कार्यकर्ताहरुले खुकुरी निकालेर आक्रमण गर्न थालेपछि अधिवेशन नै भाँडिएको छ ।

नेपाली कांग्रेस लमजुङका सभापति तथा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारकै वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल पक्षका तरुण युवाहरुबीच अधिवेशनको वैधताका बिषयमा विवाद भएपछि खुकुरी हानाहानको अवस्था आएको हो । गुरुघ पक्ष कुनै पनि हालतमा नेतृत्व हत्याउने र पौडेल पक्ष त्यसलाई रोक्ने कसरतमा लाग्दा अप्रिय अवस्था सिर्जना भएको हो ।

अधिवेशनको प्रमुख अतिथि बनेका तरुण दलका पूर्व अध्यक्ष एवं कांग्रेस नेता जीतजंग बस्नेत तथा बिशेष अतिथि बनेका तरुण दलका केन्द्रीय अध्यक्ष बिद्वान गुरुङकै सामुन्ने यो घटना भएको हो । बन्दसत्रमा असन्तुष्ट पक्षले अधिवेशनमा प्रतिनिधि छनोटमा मनपरी भएको र कतिपय वडाबाट नियतबस प्रतिनिधित्व नै नगराइएको भन्दै अधिवेशनको बैद्यतामाथि प्रश्न उठाउँदै न्यायोचित प्रतिनिधि चयन नहुदासम्म अधिवेशन रोक्न माग उठेकोमा संस्थापन पक्ष उनीहरुमाथि जाइलागेको थियो ।


यस क्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी, नेपाल तरुण दल लमजुङ प्रदेश ख का सभापति तथा बेसीशहर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खुशीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका सदस्य किशोर कुमार बस्नेत र तरुण दलका सदस्य धन घले घाइते भएका छन् । घाइतेमध्ये अधिकारी र गुरुङको अवस्था गम्भीर भएकाले थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । अन्य घाइतेहरुको प्रदेश अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।

घाइते भएका खुशीजंग गुरुङ यो अधिवेशनबाट जिल्ला अध्यक्ष बन्ने तयारीमा थिए । तर उनलाई प्रतिनिधि बन्नै रोक लगाइएको बताइन्छ । अर्का घाइते सुदिप अधिकारी नगर अधिवेशनबाटै प्रतिनिधि छनोटमा भएको मनपरीतन्त्रको विराध गर्दै आएका थिए । विरोध गर्नेहरुलाई जाइलाग्नेहरुले बेसीशहर नगरपालिका वडा नंं ३ का वडा सदस्यसमेत रहेका तरुण नेता कृष्ण भुजेललाई पनि झण्डै छप्काएका थिए ।


लमजुङमा डा. गुरुङले संस्थापन पक्षको र पौडेलले शेखर कोइराला समूहको प्रतिनिधित्व गर्छन् । लमजुङ कांग्रेसका हस्ती मानिने यी दुवै नेताले तरुण दलको जिल्ला नेतृत्वमा आफ्ना पक्षको नेतृत्व चयन गर्ने गराउने होडमा आजको अप्रिय अबस्थाको सिर्जना भएको हो ।

कांग्रेसको केन्द्रीय राजनीतिमा देउवा र कोइरालाको जस्तै लमजुङमा डा गुरुङ र पौडेलको प्रतिस्पर्धा छ । दुवै नेताहरुले जिल्लामा आफ्नो प्रभाव जमाउन कार्यकर्ताहरुलाई उक्साएका कारण आज अप्रिय अवस्था निम्तिएको अधिवेशनमा सहभागी एक नेताले बताए । 

शनिबार बेसीशहरको प्रगतिटोल तमु समाजको भवनमा भएको अधिवेशनको बन्दसत्रमा संस्थापन पक्षका तरुण युवाहरुले तरबार, खुकुरी, छड, ढुंगा र ईटाले आक्रमण गरेका थिए । उद्घाटनमा प्रयोग भएको पानस पनि आक्रमणमा प्रयोग भएको थियो  । 


जिल्ला अधिवेशन अघि गाउँ तथा नगर अधिवेशनमै संस्थापन पक्षले एकलौटी रुपले प्रतिनिधि छनोट गरी अधिवेशन गरेको भन्दै विरोध भएको थियो । उक्त विरोध जिल्ला अधिवेशनमा समेत उठेपछि संस्थापन पक्षले आक्रमण गरेको असन्तुष्ट पक्षका एक नेताले बताए । उद्घाटन सत्र सकिएर बन्द सत्र शुरु भएपछि अधिवेशनका प्रतिनिधिको छनोटका बिषयमा असन्तुष्ट पक्षले विरोध जनाएपछि संस्थापन समूह आक्रमणमा उत्रिएको असन्तुष्ट पक्षका एक नेताले बताए ।

घटनामा घाइते भएका नेपाली कांग्रेस लमजुङका सदस्य किशोर कुमार बस्नेतले संस्थापन पक्षले एकलौटी अधिवशेन गर्न खोजेको र नेतृत्वको नाम आफै पढेर सुनाउने तयारी गरेपछि विरोध गर्दा आफूहरुमाथि आक्रमण भएको बताए । उनले भने – “अधिवेशनस्थलमा पहिल्यै हतियार जम्मा गरेर राखिएको रहेछ, हामीले विरोध गरेपछि एक्कासी आक्रमण भयो ।”

नेपाल तरुण दलका एक पूर्व अध्यक्षले भने– “हामी त मञ्चमा थियौं, अधिवेशनमा प्रतिनिधि छनोटका बिषयमा एक पक्षबाट बिमतिका स्वर आउनासाथ हा हु गर्दै अर्को समूह हतियारसहित जाइलाग्यो, हामी मञ्चमा बस्न सक्ने अवस्था भएन र भाग्यौं ।” 


तरुण दलको जिल्ला अधिवेशनमा भएको यो ताण्डवपछि प्रहरी प्रशासन भने मौन बसेको छ । शान्तिपूर्ण रुपले कार्यक्रममा सहभागी भएकाहरुमाथि हतियारले प्रहार हुँदा पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । प्रहरीकै सुरक्षामा भएको कार्यक्रममा भएको यस प्रकारको घटनामा संलग्न हुनेहरुलाई कारबाहीको माग गरिए पनि प्रहरी मुकदर्शक बनेको र स्थानीय प्रशासनले पनि राजनीतिक दवावका कारण दोषीहरुलाई उन्मुक्ति दिएको बेसीशहरमा चर्चा छ ।

आजको घटनापछि अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित गरिएको निर्वाचन अधिकृत विजय प्रकास अधिकारीले जानकारी दिएका छन् । प्राप्त समाचार अनुसार मनोनयनपत्र दाखिला भइसकेको छ र मनोनयन पत्रमा अधिकांश संस्थापन पक्षको मात्र परेको छ ।

प्रतिक्रिया