बेसीशहर, साउन १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री एबं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङले देशमा विद्यमान सबै खाले समस्या समाधान गरी जनतामा आशा जगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन भएकाे बताएका छन् ।
राष्ट्रिय युवा संघ गण्डकी प्रदेश कमिटीका पहिलाे अधिवेशनकाे शनिबार बेसीशहरमा उद्घाटन गर्दै गुरूङले राजनीतिक स्थिरता कायम गरी जनतामा ब्यप्त चरम निराशाकाे अन्त्य गर्नका लागि नयाँ गठबन्धनकाे सरकार बनेकाे बताएका हुन् ।
"झट्ट हेर्दा कांग्रेस र एमालेकाे गठबन्धन बन्नु अप्राकृतिक जस्ताे देखिन्छ तर राष्ट्रिय संकटका बेला कांग्रेस र कम्युनिष्टहरू मिलेर देशलाइ निकास दिएका छन् ।"– मन्त्री गुरूङले भने– बहुदल ल्याउन, राजतन्त्र फाल्न र संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना गरी संविधान जारी गर्न पनि कांग्रेस र एमाले मिलेकै हुन् ।
मन्त्री गुरूङले याे गठबन्धनकाे सरकारले देशमा ब्यप्त भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माणमा अघि बढ्ने दावी गरे । स्थिर सरकार दिएर जनतामा विश्वास पैदा गर्न, कुशासनलाइ अन्त्य गरी सुशासन कायम गरी मुलुकका समस्या समाधान गर्न र राष्ट्रिय स्वाधीनतालाइ बलियाे बनाउन कांग्रेससंग गठबन्धन गर्नु परेकाे उनले स्पष्ट पार्न खाेजे ।
मन्त्री गुरूङले देशकाे १८ खर्बकाे बजेटमा ३ खर्ब मात्रकाे पूँजीगत बजेट पनि खर्च हुन नसकेकाे भन्दै याे सरकारले विकासमा नयाँ तरिकाले अघि बढ्ने बताए । उनले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थालिएका विकासका काम अलपत्र परेका भन्दै अब ती काम पुरा गर्नका लागि याे गठबन्धन सरकारले काम गर्ने बताए ।
"कहिले पहिलाे र तेस्राे पार्टी मिल्ने कहिले दाेस्राे र तेस्राे पार्टी मिलेर गठबन्धन गर्दा सरकार स्थिर भएन, जनतामा चरन निराशा पलायाे, देशमा विकास भएन, कुशासन मैलायाे, सुशासन कायम भएन, बिकासका काम अबरूद्ध भए, राष्ट्रिय स्वाधिनताकाे मुद्दा ओझेलमा पर्याे, त्यसैले याे दुर्लभ समीकरण गर्न परेकाे हाे ।" उनले बताए ।
मन्त्री गुरूङले के.पी. ओलीकाे नेतृत्वमा सरकार बन्नासाथ देशमा सकरात्मक परिवर्तन भइसकेकाे दावी पनि गरे । उनले भने– "जनतामा आशा विश्वास पलाएकाे छ, उद्याेगी, ब्यापारी उत्साहित भएका छन् । अब याे सरकारले शान्ति सुरक्षाकाे प्रत्याभूति गराइ, विकास निर्माणकाे काम र समृद्धिकाे अभियानलाइ अघि बढाइ, विदेशी लगानीकाे परिस्थित निर्माण भएकाे प्रत्याभूति दिएर जनतामा विश्वास दिलाउने र ढुक्क हुने परिस्थितका निर्माण गराइ जनतामा देखिएकाे निराशालाइ एक बर्षभित्र आशामा बदल्ने छ।"
मिलन शर्मा दनाई