ठूलागी ताल जाने पदमार्गमा संकेतचिन्ह राख्दै घेर्मुकाे मनासुलु मर्स्याङदी क्लव

मिलन शर्मा दनाई

बेसीशहर, भदौ ३ गते । मर्स्याङदी गाउँपालिकाको वडा नं ५ घेर्मुमा रहेको मनासुलु मर्स्याङदी क्लवका सदस्यहरुले धार्मिक तथा पर्यटकीय स्थल ठूलागी ताल जाने पदमार्गमा संकेतचिन्ह राख्नुका साथै ताल वरिपरी र पदमार्गमा सरसफाई अभियान सञ्चालन गरेको छ ।

“सके सफा गरौ, नसके फोहोर नगरौ र आफ्नो गाउँ ठाउँ, सन्सारलाई आफै चिनाउँ ’’ भन्ने नाराका साथ क्लवका सक्रिय सदस्यहरुले आफ्नो वडाको लेकमा अवस्थित धार्मिक एवं पर्यटकिय गन्तव्यको प्रचुर सम्भावना रहेको ठुलागी ताल जाने पदमार्गमा संकेत चिन्ह राख्न आइतबारबाट अभियान सञ्चालन भएको हो । 

घेर्मुदेखि ठूलागी तालसम्मको यात्रा गरी यात्राका क्रममा पदमार्गका विभिन्न भागमा संकेत चिन्ह राख्न र ताल वरिपरी र पदमार्गमा फालिएका प्लास्टिक तथा बोतल जन्य वस्तुहरु सफा गर्न क्लवका सक्रिय सदस्यहरुको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको क्लवका अध्यक्ष तुलसीप्रसाद गुरुङले बताए ।


यसअघि क्लवले बिगत दुई वर्ष अघिदेखि नै घेर्मु देखि नर्व डाडा सम्मको फोहोर सङ्कलन गर्ने गरेकोमा यस बर्ष ठुलागी ताल सम्मै पुगी सरसफाई गर्नुका साथै त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले बाटो बिराउने वा अल्मलिने सम्भावना रहेकाले पदमार्गमा संकेत चिन्हहरु राख्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए । 

क्लवका सल्लाहकार खडग गुरुङले यस अभियानका क्रममा पदमार्गमा पर्ने प्रत्येक चौतारा, गौंडाहरुको नाम र ती समुद्री सतहबाट कति अग्लो ठाउमा पर्छन् भन्ने कुरा सबै अङ्कित गरिने छ । 

मर्स्याङदी गाउँपालिका वडा नंं ५ को ब्यवस्थापन, घेर्मु स्वास्थ्य चौकीको समन्वय र घेर्मु युवा सञ्जालको सहयोगमा यो कार्यक्रम सञ्चालन गरेको हो । 

मनासुलु मर्स्याङदी क्लवले घेर्मुफाँटको पुरानो विरासत फकाई त्यहाँ पुनः पर्यटकको चहलपहल बढाउनका लागि त्यस क्षेत्रमा पहिले घले राजाले राज्य गरेको इतिहास र त्यससंग सम्बन्धित वस्तुहरुको संग्राहलय बनाउने, रमणीय दृष्यावलोकन गर्न सकिने नर्व डाडा, धार्मिक तथा पर्यटकीय स्थल ठूलागी ताल, रकगार्डेन खानिगाउँ लगायत त्यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक हरु भित्र्याउने लक्ष्य राखेको अध्यक्ष गुरुङले बताए ।


प्रतिक्रिया