बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरमा फेरि सुनका गहना चाेरी भएकाे छ । बिहिबार सदरमुकाम बेसीशहरकाे त्रिवेणी टाेलमा रहेकाे एक घरबाट दिनदहाडै सुनका गहनाहरू चोरी भएको हाे ।
बेसीशहर नगरपालिकाकाे वडा नंं ७ स्थित जनविकास माविको गेट नजिकै रहेकाे सन्तबहादुर लामाकाे घरबाट ८ ताेला भन्दा बढी सुनका गहनाहरू चोरी भएको हो । बिहिबार मध्यान्हतिर चोरी भएकोमा अबेर मात्र प्रहरीलाइ खबर गरिएपछि बेलुकी ४ बजेतिर प्रहरी घटनास्थलमा पुगेकाे थियाे ।
प्रहरीका अनुसार सन्तबहादुरकाे घरकाे दाेस्राे तलाबाट गहना चाेरी भएका हुन् । चाेरी भएकाे घरकाे भुइँतलामा भाडामा चलेकाे पसल छ । पसल सन्तबहादुरकै सालीकाे हाे । दाेस्राे तलामा घरधनी सन्तबहादुर र उनकी छाेरीकाे काेठा छन् । सुनका गहना चाेरी हुँदा सन्तबहादुर र उनकी श्रीमती भने तेस्राे तलाकाे काेठामा अाराम गरिरहेका थिए ।
साेही माैका छाेपेर घरकाे तल्लाे तलामा रहेकाे च्यानल गेटकाे चापी फाेडेर चाेरले सुनका गहना चाेरी गरेकाे सन्तबहादुरले जानकारी गराएका प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए । चाेरी भएकाे खबर पाएपछि घटनास्थल पुगेकाे प्रहरीले भने च्यानल गेटमा फाेडिएकाे चापी नभेटिएकाे बताएकाे छ । दाेस्राे तलामा सुनका गहना चाेरी भएकाे भनिएका काेठामा पनि दराज फाेडिएकाे छैन । चाेरी भएकाे भनिएकाे दराज चापीले नै खाेलिएकाे देखिएकाे तर काेठामा कपडा लगायतका सामग्री यत्रतत्र फालिएकाे अवस्था देखिउकाे अनुसन्धानका लागि पुगेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए ।
घटनास्थल पुगेकाे प्रहरीले घटनास्थलकाे निरीक्षण गरी फर्केकाे छ । सुन चोरीको घटनाबारे अनुसन्धान अघि बढाएको र चोरीमा संलग्नको खोजी थालिएको प्रहरी निरीक्षक चपाइँले बताए ।