बेसीशहर, असार २३ गते । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन लमजुङमा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ ।
केन्द्रको स्थापना पछि वैदेशिक रोजगारीलाई ब्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने नागरिकहरुलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय हाताभित्रै आप्रबासी श्रोत केन्द्र स्थापना गरिएको हो । कार्यालयबाट राहदानी लैजाने क्रममा सेवाग्राहीलाई उक्त केन्द्रमा अभिमुखीकरण गराई पठाइने छ ।
वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरु, त्यहाँ आइपर्न सक्ने कठिनाई, अपनाउनु पर्ने सुरक्षा र वैदेशिक रोजगारीमा कुनै अप्ठेरो परिहाल्यो भने के गर्ने भन्ने बिषयमा केन्द्रले परामर्श दिने छ ।
बेसीशहर नगरपालिका, जिल्ला प्रशासन कार्यालय लमजुङ, गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालय, हेल्भाटास नेपाल, स्वीस सरकार विकास सहयोग कार्यक्रम र सामी परियोजनाको सहयोगमा आप्रबासी स्रोत केन्द्रको स्थापना गरिएको हो ।

दुईवटा कोठामा सञ्चालन हुने श्रोत केन्द्रमा वैदेशिक रोजगारीमा जानेहरुलाई मनोपरामर्शको लागी एकजना दक्ष कर्मचारीको ब्यवस्था गरिएको छ । यसको ब्यवस्था बेसीशहर नगरपालिकाले मिलाएको छ ।
केन्द्रले सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना र परामर्श सेवा उपलब्ध गराउनुका अलवा वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई कम गराउने र ठगीमा परेकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन, मृत्यु वा अंगभंग भएका कामदारहरुको हकमा वैदेशिक रोजगार बोर्ड, सम्बन्धित निकायवाट प्रदान गर्ने आर्थिक सहायता लागि सिफारिश उपलब्ध गराउने लगायतका काम गर्ने छ ।
आप्रवासी स्रोत केन्द्रको आईतबार बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा मन्तब्य राख्दै मेयर अर्यालले आप्रवासी स्रोत केन्द्रको स्थापनापछि वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको न्यूनीकरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले राहदानी बनाउन आउने र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवा÷युवतीलाई रोजगारीमा जाँदा अपनाउनुपर्ने साबधानी, सुरक्षासम्बन्धी परामर्श, निशुल्क तालिमका लागि सिफारिस र अप्ठ्यारोमा परेकालाई कानूनी सहायता सम्बन्धी जानकारी गराइने बताए ।
बेसीशहर नगरपालिकाका प्रमुख चेतनाथ अर्यालले आप्रवासी स्रोत केन्दले सही सूचना दिन, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेमा उनीहरुको समस्या समाधानका लागि पहल गर्न र फर्किएकालाई विभिन्न सीप मूलक तालिममा जोड्नका लागि सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
खबरकुञ्ज