बेसीशहर, बैशाख ४ गते । मर्स्याङदी गाउँपालिका वडा नंं ९ का बासीन्दाको जायज माग पुरा गर्न अन्ततः सुपर खुदी जलविद्युत आयोजना तयार भएको छ ।
मर्स्याङदी गाउँपालिकामा निर्माणाधीन २६ मेगावाट क्षमताकाे सुपर खुदी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा राखेर छरछिमेक सहयोग कार्यक्रम अन्तर्गत गाउँमा विभिन्न विकास निर्माणका काम गर्न र स्थानीय प्रभावितलाई आयोजनाको संस्थापक सेयर उपलब्ध गराउन माग गर्दै गत माघदेखि त्यहाँका बासीन्दा आन्दोलित थिए ।
आयोजनाले वडा नं २ र ३ लाइ मात्र प्रभावित क्षेत्रमा राखेकाे छ । वडा नंं ९ लाई प्रभावित क्षेत्रमा समावेश नै नगरी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (आइइए) तयार पारेर आयोजनाको काम अगाडि बढाएको थियो । सदियौंदेखि खुदीखोलाको नकरात्मक प्रभाव झेल्दै आएको वडा नंं ९ का बासीन्दाहरु खुदी खोलाबाट प्राप्त हुने सकरात्मक प्रभावबाट बञ्चित हुनु परेपछि आन्दोलनमा उत्रिएका थिए ।
उनीहरुले पटक पटक सुपर खुदी जलविद्युत आयोजना, मर्स्याङदी गाउँपालिका, उर्जा मन्त्रालय र विद्युत विकास विभागसमेतको ध्यानाकर्षण गराएकामा कतैबाट मागको सुनुवाई नभएपछि बैशाख २ गतेबाट आयोजनाको काम ठप्प हुने गरी आन्दोलन शुरु गरेका थिए । स्थानीयका माग पुरा गर्न वडा नंं ९ को वडा कार्यालय, आयोजनाको समन्वय तथा सरोकार समितिले समेत पटकपटक आग्रह गर्दै आएकामा आयोजनाले वेवास्ता गर्दै आएको थियो ।
आयोजनाको काम नै ठप्प भएपछि सुपर खुदी स्थानीयका माग सम्बोधन गर्न तयार भएको हो । माग पुरा गर्न आयोजना तयार भएपछि स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
बुधवार मर्स्याङदी गाउँपालिकाको कार्यालयमा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको समन्वय र अध्यक्षतामा वडा नं. २, ३ र ९ का वडा अध्यक्षहरु क्रमशः चेतबहादुर गुरुङ, दूधमान गुरुङ, हरिश्चन्द्र थापा, सुपर खुदीका वरिष्ठ आयोजना प्रमुख रविकुमार गौतम, आयोजनाका साईड ईन्चार्ज कृष्णदास श्रेष्ठ, सुपर खुदी सरोकार समितिका अध्यक्ष प्रेमबहादुर गुरूङ, आयोजना समन्वय समितिका अध्यक्ष राम थापा, तीनवटै वडाका सरोकार पक्षविच वैठक भएको थियो ।
वैठकले वडा नंं ९ लाई समेत समेटेर पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गर्ने, वडा नंं ९ का नागरिकका लागि प्रमोटर शेयरका लागि आयोजना सञ्चालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
वैठकले छरछिमेक कार्यक्रम अन्तर्गत सरोकार समिति मार्फत आउने बजेटमा चालु आर्थिक बर्षका लागि वडा नंं ९ लाई ८ प्रतिशत बजेट र आगामी आर्थिक बर्ष आयोजनाबाट थप ३५ लाख बजेट दिने निर्णय गर्नुका साथै वडा नंं ९ का बासीन्दालाई योग्यता क्षमता अनुसार आयोजनामा रोजगारीको ब्यवस्था गर्ने निर्णय भएको छ ।